एनआरएनएको १० औं महाधिवेशनका लागि निर्वाचन समिति गठन
काठमाडौं, १६ असार । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोवरमा हुने १० औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति गठन गरिएको छ । संघका महासचिव डा. हेम राज शर्माका अनुसार अधिवक्ता लीलामणी पौडेलको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो ।
नयाँ नेतृत्वको लागि हुने निर्वाचन सम्पन्न गर्न सदस्यहरुमा राम प्रताप थापा, डा गणेश गुरुङ, डा देवकाजी डंगोल , चिरञ्जीवी ढकाल, डा विष्णुमाया परियार र सदस्य सचिवमा भूषण घिमिरे रहेका छन् ।
जुलाई महिनाभित्र संघका सबै राष्ट्रिय समितिको निर्वाचन सम्पन्न भए पछि अन्तर्राष्ट्रिय परिषदको निर्वाचनको लागि तयारी सुरु गरिने छ ।