मेलम्ची आयोजना पुनर्निर्माणको काम थप अनिश्चित
काठमाडौं, १८ साउन । असार १ गते आएको बाढीले संरचनाहरूमा क्षति पुर्याउँदा पुनर्निर्माण अघि बढाउन सकस भइरहेका बेला मेलम्ची खानेपानी आयोजनाको काम थप अनिश्चित बनेको छ । आइतवार बिहान हेलम्बुको भे्रमाथाङबाट आएको भीषण बाढीले सडक र पक्की पुल बगाएपछि आयोजनाको मुहानसम्म पुग्ने पहुँच नै टुटेको छ ।
बाढीले हेलम्बुस्थित चनौटेको रातो पुल र सडक बगाएकाले आयोजनाको काममा अनिश्चय पैदा भएको हो । मेलम्ची खानेपानी आयोजनाको प्राविधिक टोली सडक सञ्चालनको सम्भावना अध्ययन गर्न खटिएका थिए । तर मुहानस्थलसम्म पुग्ने पहुँच माग नै नरहेपछि आयोजनाको मर्मत सम्भार कार्य अघि बढाउन थप समस्या सृजना भएको आयोजनाका आवासीय इन्जिनियर प्रह्लाद बानियाँले बताएका छन् ।
असार १ गतेको बाढीले आयोजनाको हेडवक्र्समा क्षति पुर्याएको थियो । मुख्य संरचनासम्म पुग्ने ८ किलोमिटर बाटो समेत बगाएको छ । आइतवारको बाढीले आयोजनाका संरचनामा क्षति नपुर्याए पनि सडक सञ्जाल टुटेकाले पुनर्निर्माणको काम तत्काल थाल्न सम्भव नभएको बानियाँको भनाइ छ ।
बाढीले आयोजनाको बाँध, अडिट सुरुङ, हेडवक्र्स, प्रवेश मार्ग, पुल र सुरु बिन्दुका संरचनामा क्षति पुर्याउँदा लागत समेत बढेको छ । आयोजनाको मुख्य संरचनासम्म जाने बाटो नै नभएकाले पुनर्निर्माण कहिलेदेखि शुरू हुन्ने यकिन नभएको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताएका छन् ।