त्रिनगर भन्सारबाट करिब २८ अर्बको वैदेशिक व्यापार
धनगढी, २४ साउन । सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सारबाट गत आर्थिक वर्ष २०७७÷७८ मा करिब २८ अर्बको वैदेशिक व्यापार भएको छ । भन्सार कार्यालयका एक वर्षको अवधिमा उक्त नाकाबाट २७ अर्ब ९१ करोडभन्दा बढीको वैदेशिक व्यापार भएको हो ।
सो नाकाबाट गतवर्ष आयात मात्रै २७ अर्ब ३२ करोड रुपैयाँ बराबरको भएको छ । अघिल्लो वर्ष १७ अर्ब ६२ करोड मूल्यको सामान पैठारी भएको थियो । भन्सार कार्यालयको तथ्यांकअनुसार गतवर्ष निर्यात भने ५९ करोड रुपैयाँ बराबरको भएको छ । अघिल्लो वर्ष ५३ करोड मूल्यको वस्तु निकासी भएको थियो ।
त्रिनगर भन्सारबाट आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ र एलपी ग्यास रहेको छ, जुन गतवर्ष ८ अर्ब ४३ करोड रुपैयाँको भित्रिएको भन्सारको तथ्यांक छ । यस्तै चिनी, दालमोठ, पापड, भुजिया, कागज, ट्याक्टर, टायल, मार्बल, गाडीका सामानको आयात उच्च रहेको भन्सार कार्यालयले बताएको छ ।