भूटानसँग पनि नेपालको करोडौं व्यापार घाटा !
काठमाडौं, २४ साउन । निर्यातको तुलनामा दशौं गुणा बढी आयात गर्ने नेपालको वार्षिक वैदेशिक व्यापार घाटा चुलिँदै जानु नौलो रहेन । आत्मनिर्भर उन्मुख बन्ने रणनीतिका साथै सावधिक तथा दीर्घकालीन सोच कार्यान्वयन नहुँदा नेपालको व्यापाघाटा डरलाग्दो रूपमा बढिरहेको सरकारी तथ्यांकहरूले देखाउँछन् ।
पछिल्लो आर्थिक वर्षमा नेपालको निर्यात पनि ऐतिहासिक नै रहेको देखिन्छ । तर केही वर्षअघिसम्म वैदेशिक व्यापार नाफामा रहने मुलुकसँग पनि पछिल्ला वर्षहरूमा भने उल्टो अवस्था सृजना भएको छ । नेपालले अविश्वसनीय रूपमा व्यापार घाटा भोगेको यस्तै एउटा मुलुक हो भुटान । गत आर्थिक वर्ष २०७७÷७८ मा उक्त सानो हिमाली मुलुकसँग नेपालको व्यापार घाटा करोडौं रुपैयाँ रहेको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले भूटानबाट १ अर्ब २० करोड ३३ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । तर सो अवधिमा निर्यात भने ६२ करोड ६३ लाख रुपैयाँ बराबरको मात्र भएको छ । उक्त तथ्यांकले भूटानसँग नेपालको वार्षिक व्यापार घाटा ५७ करोड ७० लाख रुपैयाँ रहेको देखिन्छ ।
भन्सार विभागका अनुसार एक वर्ष अवधिमा नेपालले भूटानबाट सबैभन्दा बढी जिप्सम आयात गरेको छ, जुन १ अर्ब १७ करोड रुपैयाँ बराबरको २२ करोड ११ लाख ४४ हजार किलोभन्दा बढी भित्रिएको छ । यस्तै नेपालबाट भूटानमा निर्यात भएको मुख्य वस्तुमा भने धातुका सामान, तयारी कपडा लगायत छन् ।