कोभिड महामारीले आर्थिक वृद्धिदरको लक्ष्य चुनौतीपूर्ण : अर्थमन्त्री शर्मा
काठमाडौं, २६ साउन । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे श्वेतपत्र सार्वजनिक गरेका छन् । मंगलबार प्रतिनिधिसभामा सार्वजनिक गरिएको श्वेतपत्रमा निवर्तमान सरकारले देशको आर्थिक संरचनामा उल्लेखनीय परिवर्तन हासिल गर्न नसकेको औंल्याइएको छ ।
श्वेतपत्रमा आर्थिक वर्ष २०७३÷७४ र २०७४÷७५ मा क्रमशः ८.६ प्रतिशत र ७.४ प्रतिशतको उच्च आर्थिक वृद्धिदर हासिल भएकोमा विगतको सरकारले आव २०७५÷७६ मा ८.० प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य प्राप्त गर्न नसकेको उल्लेख छ । यस्तै आर्थिक वर्ष ०७६÷७७ मा ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य रहेकोमा यथार्थमा २.१ प्रतिशतले ऋणात्मक भएको र गत आर्थिक वर्ष २०७७÷७८ मा पनि अर्थतन्त्रमा उल्लेख्य सुधार हुन नसकेको श्वेतपत्रमा उल्लेख छ । बजेटमार्फत आर्थिक वृद्धिदर ७.० प्रतिशत रहने अनुमान गरिएकोमा कोरोना महामारीको दोस्रो लहरले अर्थतन्त्रमा गम्भीर प्रभाव पारेकाले उक्त वृद्धि भेट्टाउन नसकिने बताइएको छ ।
आर्थिक वर्ष २०७३÷७४ को कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग एवं सेवा क्षेत्रको योगदान क्रमशः २६.८ प्रतिशत, १४.६ प्रतिशत र ५८.६ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष २०७७÷०७८ मा यी क्षेत्रको योगदान क्रमशः २५.८ प्रतिशत, १३.१ प्रतिशत र ६१.१ प्रतिशत रहने अनुमान गरिएको श्वेतपत्रमा उल्लेख छ ।
दिगो आर्थिक वृद्धिको आधार उत्पादनमूलक क्षेत्रको वृद्धि हुनुपर्नेमा यसतर्फ ठोस पहल हुन नसकेको औंल्याइएको छ । उत्पादनमूलक क्षेत्रमा आन्तरिक तथा बाह्य लगानीको अपर्याप्तता, उत्पादनमुखीभन्दा व्यापारकेन्द्रित लगानी, उच्च उत्पादन लागत, सरकारको पुँजीगत खर्च गर्ने क्षमतामा कमी, आर्थिक वृद्धि र रोजगारी सिर्जनाबीचको कमजोर सम्बन्ध, आर्थिक वृद्धिको लाभका असमान वितरण, अनौपचारिक क्षेत्रको हिस्सा नघट्नु जस्ता समस्या अर्थतन्त्रमा लामो समयदेखि रहँदै आएको अर्थमन्त्री शर्माले बताएका छन् । अर्थतन्त्रको वृद्धिका लागि उक्त समस्याको समाधान हुनुपर्ने उनले औंल्याएका छन् ।