‘मौद्रिक नीति कार्यान्वयन गर्न सहज तथा चुनौती दुवै’

काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि गत साउन २९ गते सार्वजनिक गरेको मौद्रिक नीति स्वागतयोग्य रहेको भएता पनि सबै क्षेत्रलाई सन्तुलित तवरले लैजान चुनौती भएको वरिष्ठ अर्थशास्त्री तथा उद्योग, बैंक लगायत आर्थिक क्षेत्रका विज्ञहरूले बताएका छन् । मंगलवार नेपाल आर्थिक संघ तथा इन्स्टिच्युट फर स्ट्राटजिक एन्ड सोसियो–इकनमिक रिसर्च (आईएसएसआर)ले सयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहभागी विज्ञ वक्ताहरूले मौद्रिक नीतिको सराहना गरे ।
कार्यक्रममा मौद्रिक नीतिले समेटेका क्षेत्र, निरन्तता दिएका विषय र मौद्रिक नीतिका चुनौतीको विषयमा विस्तृत छलफल भएको थियो । उक्त अवसरमा प्रमूख अतिथि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिले समग्र क्षेत्रलाई समेटेको बताए ।
विभिन्न क्षेत्रका अर्थविदहरूको सल्लाह सुझावसहितको मौद्रिक नीति भनिएकोमा सबै क्षेत्रलाई प्रोत्साहन गर्ने कुरामा आफू विश्वस्त रहेको गभर्नरको भनाइ रहेको थियो । गभर्नर अधिकारीका अनुसार पुनर्कर्जालाई मौद्रिक नीतिले यस वर्ष पनि निरन्तरता दिएको छ, कर्जा भुक्तानीको अवधि पनि धेरै राखिएकाले व्यवसायी तथा उद्योगीहरूलाई सहज हुनेछ ।
डा. विश्वम्भर प्याकुरेलले गत वर्षको मौद्रिक नीतिलाई केन्द्रबिन्दु बनाएर यस वर्षको मौद्रिक नीति जारी भएको बताए । गत वर्षकै नीतिहरूलाई केही संशोधन गरेर सोही मौद्रिक नीतिहरूलाई निरन्तरता दिएको उनले बताए ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन कुमार गोल्यानले ‘क’ वर्गका वैंकहरूलाई मर्ज गरेर घटाउँदै लैजाने नीतिगत व्यवस्थाको प्रशंसा गर्दै ‘ख’ र ‘ग’ वर्गका वैंकहरू आफैँ घट्दै गएकाले दुरदराजका मानिसहरूको बैंकिङ क्षेत्रमा पहुँच अझ बढाउनुपर्नेमा जोड दिए ।
नेपाल आर्थिक संघ का महासचिव तथा अर्थविद् गोपालप्रसाद तिवारीद्वारा सञ्चालित प्रोग्राममा विभिन्न बक्ताहरुले आफ्नो धारण राखेका थिए । साथै उनले प्रोग्राम सहजीकरण गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाका बारेमा सीडी रेशियो, शेयर धितो साथै अन्य विषयमा भएका कन्फ्युजन हरूलाई निर्देशिका मार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी नेपाल आर्थिक संघका कार्यकारी सदस्य तथा अर्थविद् केशव आचार्यले यस वर्षको मौद्रिक नीतिले गत वर्षका नीतिलाई निरन्तरता दिनु राम्रो पक्ष भए पनि अन्य केही कुरामा पनि ध्यान दिनुपर्ने बताए ।
नेपाल आर्थिक संघका उपाध्यक्ष प्रा. डा गोविन्द नेपालले कोरोना महामारीले प्रभावित क्षेत्रलाई सहुलियत प्रदान गर्नु र गत वर्षको नीतिहरूलाई निरन्तरता दिनु मौद्रिक नीतिको राम्रो पक्ष रहेको बताए ।
आइएसएसआरका सञ्चालक सदस्य डा. रवीन्द्र पाण्डेले कोरोना महामारीबाट मुक्त हुन अझै कम्तीमा पनि दुई वर्ष लाग्ने भएकाले यस्तो अवस्थामा आउने मौद्रिक नीतिले वित्तीय पक्षभन्दा व्यावहारिक पक्षमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
गत वैशाखबाट कोरोनाको दोस्रो लहरले कोरोना महामारीले पुनः निजी क्षेत्र शिथिल भएको अवस्थामा मौद्रिक नीतिले राहत दिन्छ भन्ने धेरै अपेक्षा रहे पनि त्यसमा तरलताको अभाव देखिएको उनको भनाइ थियो ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका वरिष्ठ उपाध्यक्ष्य भोजबहादुर शाह साथै उक्त कार्यक्रममा विभिन्न अर्थविद्, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ पधाधिकारीहरू, आर्थिक पत्रकार तथा अन्य सहभागीको उपस्थिति थियो ।