मौद्रिक नीतिले जनअपेक्षा सम्बोधन गरेको छ : सिबिफिन

काठमाडौं, २ भदौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक आर्थिक वर्ष २०७८÷०७९ को मौद्रिक नीतिले जनअपेक्षालाई सम्बोधन गरेको भन्दै स्वागत गरेको छ ।
कोभिड–१९ को सङ्क्रमण र बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिबाट उत्पन्न समस्याको न्यूनीकरण, जनअपेक्षाको सम्बोधन र विषम् परिस्थितिबाट संकुचित आम व्यवसाय तथा अर्थतन्त्रलाई गतिशील बनाउँदै कोभिडपूर्वकै लयमा फर्काउनका मौद्रिक नीति केन्द्रित भएको टिप्पणी गरेको छ । मौद्रिक नीति समग्रतामा सकारात्मक र सन्तुलित रूपमा आएको सिबिफिनले ठहर गरेको छ ।
मुलुकको विषम परिस्थितिका आवश्यकतामाथि केन्द्रित भई अबलम्वन गरेका कार्यदिशा र नीतिले विगतमा जस्तै सुखद र सकारात्मक परिणाम दिनेमा सिबिफिन विश्वस्त रहेको मंगलवार जारी विज्ञप्तिमा उल्लेख छ । मौद्रिक नीति निर्माणका क्रममा सरोकारवाला पक्षबाट प्राप्त भएका सुझावको सम्बोधनले पनि नीति निर्माणमा सहभागितामूलक दृष्टिकोण अपनाइएको विषयलाई प्रमाणित गरेको भन्दै सिबिफिनले प्रभावकारी कार्यान्वयनको अपेक्षा गरेको छ ।