भिजन पेपरको प्रभावकारी कार्यान्वयनका लागि महासंघले राजनीतिक दलहरुसँग छलफल थाल्यो

काठमाडौं,२ भदौ। राष्ट्रिय आर्थिक रुपान्तरण भिजन पेपरलाई प्रभावकारी कार्यान्वयनमा लैजाने क्रममा नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलहरूसंगको छलफललाई अगाडि बढाएको छ । सो क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूसंग छलफल गरेको छ ।
छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरू कमल थापा, पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष अन्जन श्रेष्ठ, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, राप्रपाको आर्थिक समितिका संयोजक उद्धव पौडेल र कार्यसम्पादन समितिका सदस्य मोहन श्रेष्ठ सहभागी हुनुुहुन्थ्यो ।
सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले भिजन पेपरका वारेमा विस्तृत रूपमा जानकारी गराउंदै यसको सफल कार्यान्वयनमा महासंघले सवै राजनीतिक दलहरूको सहयोग खोजेको बताए । मुलुकको अर्थतन्त्र एक सय अर्व अमेरिकी डलर पुरयाउने, थप २३ लाख अतिरिक्त रोजगारी सृजना गर्ने र जीडिपीको अनुपातमा व्यापार घाटा आधा घटाउने मुख्य लक्ष्यका साथ ल्याइएको नेट २०३० को सफल कार्यान्वयन सरकार, सबै राजनीतिक दलहरू, निजी क्षेत्रको संयुक्त सहयोग र सहकार्यबाट मात्र सम्भव हुने स्पष्ट पारे ।
छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तीनै जना अध्यक्षहरुले आफ्नो दल यतिखेर आर्थिक नीति बनाउने तयारीमा रहेकाले निजी क्षेत्रसंग सल्लाह सुुझाव लिने उद्देश्यले महासंघको नेतृत्वसंग छलफल गर्न आएको जानकारी गराए ।
महासंघले अगाडी सारेको भिजन पेपर र त्यसले लिएका लक्ष्यहरु निकै नै महत्वपूर्ण रहेको र यो दस्तावेज सरकार तथा सवै राजनीतिक दलहरुका लागि समेत अत्यन्त महत्वपूर्ण रहेको भन्दै यसको सफल कार्यान्वयनमा आफ्नो दलको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाए ।