बागमती प्रदेशको उद्योग क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ८ खर्ब नजिक
काठमाडौं, २० भदौ । बागमती प्रदेशको उद्योग क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी करिब ८ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन (बागमती प्रदेश), प्रथम अर्धवार्षिक प्रतिवेदन–२०७७÷७८’ का अनुसार यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल लगानी ७ खर्ब ८२ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा ८.८ प्रतिशतले वृद्धि बढेर ६ खर्ब ५५ अर्ब ७९ करोड पुगेको थियो । समीक्षा अवधिमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३७.६ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी ६ खर्ब ७१ अर्ब ७२ करोड (८५.८ प्रतिशत) लगानीमा रहेको छ भने रसुवा जिल्लामा सबैभन्दा कम ४४ करोड कर्जा (०.०६ प्रतिशत) रहेको छ ।
प्रतिवेदनका अनुसार कुल औद्योगिक कर्जामध्ये धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी २१.४ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा ६.३ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, विद्युत्, ग्यास तथा पानीमा १४.३ प्रतिशतले, कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा १२.० प्रतिशतले, निर्माणमा ८.१ प्रतिशतलेकर्जा बढेको छ भने खानी सम्बन्धी उद्योगमा १.५ प्रतिशतले घटेको छ ।