Date

बुध, मंसिर १७, २०८२
Wed, December 3, 2025

ललितपुर हस्तकलाको प्रमुख जिल्ला हो : बागमती प्रदेश मन्त्री श्रेष्ठ

ललितपुर हस्तकलाको प्रमुख जिल्ला हो : बागमती प्रदेश मन्त्री श्रेष्ठ

काठमाडौं, १७ मंसिर । बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले बागमती प्रदेशको ३ वटा जिल्लामध्ये ललितपुर हस्तकलाको रुपमा योगदान गर्ने प्रमुख जिल्लाको भएको बताएकी छिन् ।

बुधबार ललितपुरको पाटनमा आयोजित ‘कला तथा संस्कृति महोत्सव–२०८२’ को उद्घाटन समारोहमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाली मौलिक हस्तकलाका सामग्री प्रवद्र्धन गर्न सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाइन । मन्त्री श्रेष्ठले बागमती प्रदेश कला र संस्कृतिले भरिपूर्ण भए पनि त्यसमध्य ललितपुर, भक्तपुर र काठमाडौंमा हस्तकलाका सामग्री प्रयोग गरेर बनाइएका पुरातात्विक सम्पदाहरु बढी भएकोले तिनको संरक्षण गर्न संघ, प्रदेश र स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने स्पष्ट पारिन् ।

“नेपालको ८० प्रतिशत अर्थतन्त्रमा हस्तकलाले योगदान गरेको छ । त्यसमा पनि नेपाल अधिराज्यभर बागमती प्रदेशको सवैभन्दा बढी योगदान रहेको छ । बागमती प्रदेशको ३ वटा जिल्लामध्ये ललितपुर जिल्ला हस्तकलाको रुपमा योगदान गर्ने प्रमुख जिल्लाको रुपमा चिनिन्छ,” मन्त्री श्रेष्ठले भनिन् ।

समारोहमा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले हस्तकलाका सामग्री बनाउने र व्यवसाय गर्ने अर्को पुस्ता नरहनेमा चिन्ता व्यक्त गर्दै हस्तकलामा पुस्ता हस्तान्तरणको आवश्यकता रहेको बताए । अध्यक्ष शाक्यले अबका दिनमा हस्तकला व्यवसायलाई आर्थिक उन्नतीसँग जोड्नुपर्ने बेला आएको बताउँदै विदेश पलायन हुने युवालाई रोक्न हस्तकला व्यवसायलाई युवाको पेशा बनाउनुपर्नेमा जोड दिए ।

“हस्तकलाको क्षेत्रमा अहिले पुस्तान्तरण नभएको कुरालाई हामीले मनन गर्नै पर्छ, हाम्रा नयाँ जेनेरेशन विदेश पलायन भएको अवस्था छ । उहाँहरु विदेश गएपछि फर्किने सम्भावना ५०/५० रहेको मलाई लाग्छ ।” अध्यक्ष शाक्यले भने, “ हस्तकला क्षेत्रमा एउटा राम्रो प्लाटफर्म अहिले नै बनाउन सकिएन भने उहाँहरु विस्थापन हुने र पुस्तान्तरण नहुनेमा धेरै नै अन्यौलता रहन्छ जस्तो लाग्छ ।”

नेपाली कला, संस्कृति र परम्परागत हस्तकला वस्तुको प्रचार–प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिका वडा नम्बर १६ र पाटन संग्रहालयको संयुक्त आयोजनामा ५ दिने महोत्सव बुधबारबाट संचालन भएको हो । महोत्सव आइतबारसम्म संचालन हुने छ ।

महोत्सवका अवधिभर पाटन दरबार स्क्वायर क्षेत्र र पाटन संग्रहालय परिसरमा हस्तकला प्रदर्शनी गरिएका छन् । त्यसका साथै महोत्सवमा ललितपुर–१६ को हस्तकला प्रवर्द्धन समितिबाट बुद्ध धर्म अनुसार दश कर्ममा प्रयोग हुने गरगहना, जातीय पोशाक प्रदर्शनी हुने छ भने सोही वडाको सांस्कृतिक समितिबाट शास्त्रीय संगीत, चर्या नृत्य, अष्टमात्रिका नाच, कार्तिक नाच, लोकनृत्य तथा नेवारी धाः बाजा, दमोखिँ बाजा र नेपाल भाषाका लोकगीत प्रस्तुत गरिने कार्यक्रम छ ।

महोत्सवका क्रममा महासंघले कोरियास्थित आईएमएसीओको सहकार्यमा आयोजना गर्न लागेको मुखौटा प्रदर्शनी गर्दैछ । उक्त प्रदर्शनीमा नेपालका ६० ओटा र दक्षिण कोरियाका ४० ओटासहित १०० हस्तनिर्मित मुखौटा प्रदर्शन हुनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *