Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एमसीसी कुनै सैन्य रणनीति नभएको अमेरिकाको जवाफ

एमसीसी कुनै सैन्य रणनीति नभएको अमेरिकाको जवाफ

काठमाडौं, २४ भदौ । अमेरिकी सहयोग परियोजना (एमसीसी) कुनै पनि सैन्य रणनीति अन्तर्गत नरहेको जवाफ अमेरिकाले नेपाल सरकारलाई पठाएको छ । नेपाल सरकारले हालै सो परियोजनालाई सोधेका सबै प्रश्नको जवाफ दिँदै एमसीसीको ‘डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्स्’ की उपाध्यक्ष फातेमा जे सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गर्दै उक्त जवाफ दिएकी हुन् । मन्त्री शर्मालाई पत्र लेख्दै सुमारले एमसीसीभित्र कुनै लुकेको एजेन्डा नभएको स्पष्ट गर्दै यसबारे नेपालमा गलत हल्ला मात्र फैलाइएको दाबी गरेकी छन् ।

उक्त परियोजनाले नेपाल सरकारलाई पठाएको जवाफमा नेपाललाई गर्न लागेको सहयोग सैन्य क्षेत्रसँग सम्बन्धित नभएको स्पष्ट गरेको हो । साथै बिनाअवरोध निर्धारित समयमा कार्यान्वयन होस् भनेर संसदबाट पारित गर्ने व्यवस्था राखिएको र एमसिसी सम्झौताभन्दा नेपालको संविधान माथि रहेको बताइएको छ । त्यसैगरी उक्त परियोजनाका लागि प्रयोग हुने जग्गामा पनि नेपाल सरकारको स्वामित्व कायम हुने उक्त पत्रमार्फत् स्पष्ट गरिएको छ ।

केही दिनमात्र अघि नेपालले सोधेका प्रश्नको जवाफ दिँदै पत्रमा एमसीसी नेपालमा प्रचार भएजस्तो हिन्द प्रशान्त रणनीति रणनीतिअन्तर्गत नभएको पनि उल्लेख गरिएको छ । सो जवाफमा भनिएको छ, ‘एमसिसी कम्प्याक्ट हिन्द–प्रशान्त रणनीति मातहतको सम्झौता होइन । एमसीसी कम्प्याक्टहरू एमसीसी र साझेदार सरकारबीचका सम्झौता हुन् । अमेरिका र नेपालबीचको सम्बन्ध हिन्द–प्रशान्त रणनीतिभन्दा धेरै अघिदेखिको हो ।’

एमसीसीले पठाएको उक्त जवाफमा यस सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको, सहयोग लिने विषयमा नेपाल स्वतन्त्र रहेको, एमसीसीलाई लागू हुने अमेरिकी कानुनले कुनै पनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट एमसीसीलाई निषेध गरेको उल्लेख छ । यो कानुनी बन्देजका बारेमा पनि कम्प्याक्ट स्पष्ट रहेको र यस कम्प्याक्ट र कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिका बीचमा कुनै पनि सम्बन्ध नरहेको पनि सो पत्रमा भनिएको छ ।

त्यसैगरी नेपाल सरकारलाई पठाइएको सो पत्रमा कम्प्याक्टका लागि योग्य ठहर्याई साझेदार चयन गर्ने एमसीसीको प्रक्रिया वैधानिक रूपमा निर्धारित मापदण्डहरूमा आधारित भएको दाबी पनि एमसीसीले गरेको छ ।

सो पत्रमा भनिएको छ, ‘‘यसमा सैन्य पक्ष समावेश हुँदैन । एमसीसीको सञ्चालक समितिबाट कुनै पनि देश छनौटका लागि योग्य हुन विश्व बैंकद्वारा न्यून आय वा न्यून–मध्यम आय भएको देशका रूपमा वर्गीकृत भएको हुनुपर्छ र न्यायसंगत र लोकतान्त्रिक शासन, आर्थिक स्वतन्त्रतामा आधारित एमसीसीको वार्षिक सूचकाङ्कको स्कोर कार्डमा उत्तीर्ण हुनुपर्दछ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x