२५ प्रतिशतले घट्यो कोभिड संक्रमण दर, निको हुने बढेपछि खाली हुँदै अस्पतालका बेड
काठमाडौं, २४ भदौ । पछिल्ला हप्तामा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको पाइएको छ । पछिल्लो पटक मुलुकभरि नै संक्रमण घटेको पाइएको चिकित्सकले बताएका छन् । विगत २० दिनयताको तथ्यांक हेर्दा नेपालमा कोरोना भाइरसको संक्रमण करिब २५ प्रतिशतले घटेको देखिएको छ । साथै निको हुने दरमा पनि करिब यही अनुपात देखिन्छ ।
सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेर खोप लगाएको र यसबाट रोग प्रतिरोधात्मक क्षमता बढ्न गई संक्रमण घटेको चिकित्सकको भनाइ छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पछिल्लो हप्ता संक्रमण दरमा कमी आएको जानकारी दिएका छन्् । उनका अनुसार पहिले परीक्षण गराएकामध्ये २२ प्रतिशत संक्रमण हुने गरेको पाइएकोमा अहिले पीसीआर परीक्षण गरेकामध्ये १३ देखि १५ प्रतिशतमा मात्र संक्रमण देखिएको छ ।
संक्रमित हुनेको संख्यामा कमी आएपछि अस्पतालमा भर्ना हुने बिरामी पनि विगत १० दिनदेखि कमी हुँदै आएको अस्पतालले जनाएका छन् । संक्रमणको दोस्रो लहर आएसँगै साउनमा संक्रमण बढेकामा अहिले आएर भने कमी देखिएको हो ।
बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालका डा. प्रवीन नेपालले पनि पहिलेको तुलनामा संक्रमित भएर आउने बिरामीको संख्या घटेको बताए । उनका अनुसार एक महिनाअघि दैनिक २० जना बिरामी आउने गरेकामा अहिले दैनिक पाँच÷छ जना बिरामी आउने गरेका छन् ।
नेपालमा दैनिक एक लाख जनाले खोप लगाइरहेका छन् । नेपालमा अहिलेसम्म ५६ लाख तीन हजार ७५७ जनाले पहिलो मात्रा र ५० लाख १२ हजार ८२१ जनाले पूर्ण मात्राको खोप लगाइ सकेका छन् । नेपालले कोभ्याक्स सुविधा, अनुदान र खरिद गरेर अहिलेसम्म एक करोड ३३ लाख खोप ल्याइसकेको छ ।
सरकारले असोजसम्म कुल जनसंख्याको ३३ प्रतिशत र चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप ल्याउने अन्तिम तयारी गरेको जानकारी दिएका छन् ।