पर्यटन क्षेत्रबाट आर्जन हुने विदेशी मुद्रामा करिब ७१ प्रतिशतले ह्रास
काठमाडौं, ३० भदौ । कोरोना महामारीले नराम्ररी असर पुगेको पर्यटन क्षेत्रबाट आर्जन हुने विदेशी मुद्रामा गतवर्ष करिब ७१ प्रतिशतले कमी आएको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक २०२०’ले यस्तो देखाएको हो । प्रतिवेदनका अनुसार गतवर्ष पर्यटनबाट प्राप्त हुने विदेशी मुद्रामा कमी आएर करिब २५ अर्ब रुपैयाँ आर्जन भएको छ ।
कोभिड–१९ महामारीले नेपाल आउने विदेशी पर्यटकको संख्या घटे पनि उनीहरुको औसत बसाई भने बढेको पाइएको छ । अनुसार पर्यटकको औसत बसाई विगत वर्षभन्दा केही बढेर १५ दिन नाघेको छ । अघिल्ला तीन वर्षमा पर्यटकको औसत बसाई सरदर १२ दिन थियो । सन् २०१९ मा १२ दशमलव ७, सन् २०१८ मा १२ दशमलव ४ र सन् २०१७ मा १२ दशमलव ६ दिन थियो । त्यसअघि सन् २०११ र सन् २०१६ मा क्रमशः १३ दशमलव १२ र १३ दशमलव १६ दिन पर्यटकको औसत बसाई थियो ।
पर्यटकको बसाई लम्बिएसँगै उनीहरुले गर्ने खर्च पनि बढेको छ । प्रतिपर्यटक खर्च विगत वर्षको तुलनामा वृद्धि भई ६५ अमेरिकी डलर पुगेको छ । अघिल्ला वर्षमा सरदर प्रति पर्यटक ४५ डलरसम्म खर्च हुने गरेको थियो । कोभिड महामारीका कारण सन् २०२० मा अघिल्लो वर्षको तुलनामा करिब ८० प्रतिशतले पर्यटक आगमनमा कमी आएको छ । सन् २०२० को पर्यटक आगमन संख्या दुई लाख ३० हजार ८५ मात्र रहेको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए भने सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ ।