Date

मङ्ल, साउन १३, २०८२
Tue, July 29, 2025

काठमाडौं महानगरले ताेकेका स्थानमा २ घण्टासम्म सवारी पार्किङ गर्दा शुल्क नलाग्ने

काठमाडौं महानगरले ताेकेका स्थानमा २ घण्टासम्म सवारी पार्किङ गर्दा शुल्क नलाग्ने

काठमाडौं, १३ साउन । काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा सञ्चालन गरिने पार्किङ स्थलको शुल्क निर्धारण गरेको छ ।

श्रावण १ गतेबाट लागू भैसकेकाे महानगरको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८२ अनुसार महानगरपालिका आफैंले सञ्चालन गरेको पार्किङ स्थलमा पहिलो दुई घण्टा शुल्क नलाग्ने र दुई घण्टा भन्दा बढी पार्किङ गरेमा सुरु समय देखिकै शुल्क लाग्ने छ । यस अनुसार दुई पाङग्रेका लागि प्रति ३० मिनेटको १५ रुपैयाँका दरले र चार पाङग्रेका लागि प्रति ३० मिनेटको २५ रुपैयाँका दरले शुल्क लाग्ने छ । अपाङ्गता भएका व्यक्तिको लागि प्रयोग हुने सवारी साधनमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

महानगरले अन्य सार्वजनिक निकाय तथा निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा सञ्चालन गरेको पार्किङ स्थलको हकमा भने सम्झौतामा उल्लेख गरेबमोजिम पार्किङ शुल्क लाग्नेछ । सवारीसाधन पार्किङ प्रयोजनको लागि मात्र उपयोग हुने भवन वा बहुतल्ले पार्किङ भवनको लागि नक्सा पास दस्तुरमा ९० प्रतिशत छुट हुनेछ ।

त्यसैगरी तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ गरेमा सबै किसिमका तीनपांग्रे सवारी साधन/मोटरसाइकल/स्कुटरका लागि १ हजार, सबै किसिमका चारपांग्रे सवारी साधन (कार, जीप, डेलिभरी भ्यान) का लागि २ हजार ५ सय, सबै किसिमका मझौला सवारी साधन (मिनीबस, मिनीट्रक आदि) का लागि ३ हजार ५ सय र सबै किसिमका ठूला सवारी साधन (बस, ट्रक, लहरी आदि) का लागि ५ हजार रुपैयाँ जरिवाना लाग्ने छ ।

सार्वजनिक यातायातको साधनले बस बिसौनी वा तोकिएको स्थान बाहेकका स्थानबाट यात्रु ओराल्ने वा चढाउने गरेमा ५ हजार रुपैयाँ जरिवाना लाग्ने छ । त्यसैगरी सवारीसाधनबाट हुने ध्वनी प्रदूषण वापत १ हजार र वायु प्रदूषण वापत पनि १ हजार रुपैयाँ जरिवाना लाग्ने छ ।

सवारी साधन वा व्यक्तिले बाटोमा माटो, बालुवा तथा हिलो खसाली फोहोर गरे गराएमा ५० हजार रुपैयाँ सम्म जरिवाना लाग्ने महानगरले जनाएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *