रसुवाको बाढी–पहिरोबाट बीमा कम्पनीहरूमा ८४ करोड रुपैयाँ बराबरको दावी

काठमाडाैं, १३ साउन । रसुवामा असार २३ गते परेको अविरल वर्षा र त्यसपछिको बाढी–पहिरोले पुर्याएको क्षतिको बीमा दावी रकम झन्डै ८४ करोड रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार साउन ८ गतेसम्म बीमा कम्पनीहरूमा ६८ वटा औपचारिक दावीहरू दर्ता भइसकेका छन्। यी दावीहरू सवारीसाधन, सम्पत्ति, सामुन्द्रिक बीमा तथा इन्जिनियरिङ ठेकेदार जोखिमसम्बन्धी छन्।
बाढीले सार्वजनिक तथा निजी गरी ५२ वटा सवारीसाधनमा क्षति पुर्याएको छ। सार्वजनिक सवारी अन्तर्गत ३८ वटा मोटरमा २ करोड ५९ लाख ५० हजार रुपैयाँ र निजी सवारी अन्तर्गत १४ वटा मोटरमा २ करोड १४ लाख ५० हजार रुपैयाँ बराबरको बीमा दावी परेको छ।
सम्पत्ति बीमा अन्तर्गत सबैभन्दा ठूलो दावी परेको छ। प्राधिकरणका अनुसार ६ वटा बीमालेखमा ५८ करोड १ लाख रुपैयाँ बराबरको दावी दर्ता भएको छ। यसबाहेक सामुन्द्रिक बीमामा १६ करोड २३ लाख १० हजार र इन्जिनियरिङ ठेकेदार जोखिम अन्तर्गत ५ करोड ४० लाख रुपैयाँ बराबरको दावी परेको छ।
कम्पनीगत रूपमा सबैभन्दा धेरै दावी हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ, जहाँ ५५ करोड रुपैयाँ बराबरको दावी दर्ता गरिएको छ। यो कुल दावीको ६५ प्रतिशतभन्दा बढी हो। त्यसपछि शिखर इन्स्योरेन्समा १६ करोड ८५ लाख १० हजार, नेको इन्स्योरेन्समा ५ करोड १२ लाख, सगरमाथा लुम्बिनीमा २ करोड ६५ लाख र नेपाल इन्स्योरेन्समा १ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको दावी दर्ता भएको छ।
त्यसैगरी, युनाइटेड अजोडमा ९१ लाख, आइजीआई प्रुडेन्सियलमा ७५ लाख ५० हजार, सानिमा जिआइसीमा ७५ लाख, एनएलजीमा ४७ लाख, सिद्धार्थ प्रिमियरमा ३१ लाख र प्रभू इन्स्योरेन्समा २८ लाख रुपैयाँ बराबरको दावी दर्ता भएको छ।
यी सबै दावी प्रारम्भिक रूपमा दर्ता भएका हुन् भने प्राधिकरणले अझै विस्तृत विवरण संकलनको काम जारी राखेको छ। बीमा कम्पनीहरूले दावीको छानबिन, मूल्याङ्कन र भुक्तानी प्रक्रिया सुरु गरिसकेका छन्।