कम्पनी दर्ता बढ्यो, एक महिनामै थपिए ३ हजार ८०६

काठमाडौं, १२ असोज । गत आर्थिक वर्षमा मुलुकमा कम्पनी दर्तामा उत्साहजनक वृद्धि देखिएको । अघिल्लो अघिल्लो आर्थिक वर्षमा पब्लिक, प्राइभेट, मुनाफा वितरण नगर्ने र विदेशी कम्पनीको शाखासहित गरी कुल १८ हजार ५९५ कम्पनी दर्ता भएकोमा गत आर्थिक वर्षमा २६ हजार ४९८ हजार वटा दर्ता भएको कम्पनी रजिस्ट्रारको कार्यालयको तथ्यांक छ ।
कार्यालयका अनुसार गत आवमा दर्ता भएकामध्ये प्राइभेट कम्पनी मात्रै २५ हजार ८५९ वटा रहेका छन् भने पब्लिक कम्पनी ५५, मुनाफा वितरण गर्ने ५४४ र विदेशी कम्पनीका शाखा÷सम्पर्क कार्यालय ४० वटा रहेका छन् । सो अवधिमा ४ वटा कम्पनी भने खारेजीमा परेका छन् । अघिल्लो वर्ष १४ वटा कम्पन खारेज भएका थिए ।
यसैगरी चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ३ हजार ८०६ वटा कम्पनी दर्ता भएको कार्यालयको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा यो २ हजार ६५२ वटा थियो । गत साउनमा दर्ता भएकामध्ये प्राइभेट कम्पनी ३ हजार ७१०, पब्लिक कम्पनी ९, मुनाफा वितरण नगर्ने कम्पनी ८३ र विदेशी कम्पनीका शाखा÷सम्पर्क कार्यालय ४ वटा रहेका छन् । उक्त अवधिमा एउटा कम्पनी खारेजीमा परेको छ ।