महँगोमा टिकट बेच्न खोज्ने ७ जना पक्राउ
काठमाडौं, २५ असोज । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्व लक्षित विशेष योजना थालनी गरेको छ। चाडपर्व मनाउन घर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोजेको आरोपमा ७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
टिकट काउन्टरको कर्मचारी भन्दै अनधिकृत रूपमा भाडा उठाई विचौलियाको काम गर्ने ७ जनालाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । कोटेश्वर एरियाको काउन्टरबाट खोटाङ ऐशेलुखर्क–३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खु एरियाको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एलएक्स चौधरी, मकवानपुर भीमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामा पक्राउ परेका हुन्।
दशैं–तिहार मनाउन घर जानेहरूको अरु समयमा भन्दा यतिखेर बढी नै हुने हुँदा महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएर सक्रियताका साथ काम गरिरहेको भट्टराईले जानकारी दिए ।