पहिलो त्रैमासमा पूँजीगत खर्च ३.४२ प्रतिशत मात्र
काठमाडौं, २ कात्तिक । विकास लक्षित पूँजीगत खर्च यस वर्ष पनि निराशाजनक रहने देखिएको छ । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा पूँजीगत खर्च ४ प्रतिशत पनि पुग्न सकेको छैन ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार असोज मसान्तसम्ममा कुल पूँजीगत खर्च ३.४२ प्रतिशत मात्र रहेको छ । चालू आवमा पूँजीगततर्फको बजेट ४ खर्ब ३५ अर्ब २४ करोड रुपैयाँ रहेकोमा सो अवधिमा जम्मा १४ अर्ब ८८ करोड रुपैयाँ मात्र खर्च हुन सकेको हो ।
सोही अवधिमा सरकारको चालू खर्च भने १८.५७ प्रतिशत रहेको छ । यस वर्षको चालू खर्चतर्फ १० खर्ब ४३ अर्ब ५ करोड विनियोजन भएकोमा असोज मसान्तसम्ममा १ खर्ब ८६ अर्ब ५२ करोड रुपैयाँ खर्च भएको छ । यस्तै वित्तीय व्यवस्थापनतर्फ खर्च प्रगति १५.९२ प्रतिशत रहेको छ । सो शीर्षकमा २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ रहेकोमा ३३ अर्ब ११ करोड खर्च भएको महालेखाको तथ्यांक छ ।
आवको पहिलो त्रैमासमा निराशाजनक रहेको पूँजीगत खर्च अर्को त्रैमासमा केही सुधार हुने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले यही कात्तिकदेखि लागू हुनेगरी विषयगत मन्त्रालयहरूलाई मासिक १० प्रतिशत पूँजीगत खर्च गर्नेगरी लक्ष्य दिएकाले यस वर्ष विकास बजेट कार्यान्वयन बढ्ने अनुमान गरिएको हो ।