एनआईसी एशिया बैंकद्वारा “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता” योजना सार्वजनिक
काठमाडौं, २ कात्तिक । एनआईसी एशिया बैंकले “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता” योजना सार्वजनिक गरेको छ ।
बैंकको २४ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सार्वजनिक उक्त योजनामा ग्राहकहरूलाई उच्च प्रतिफलको साथमा ३ बीमा सम्बन्धी सुरक्षाका फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदाहरू तथा १८ अन्य अतुलनीय फाइदाहरू प्रदान गरिने जनाइएको छ ।
यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरूले २१ लाख रुपैयाँसम्मको ३ प्रकारका बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रुपैयाँसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि १० लाख रुपैयाँ सम्मको बीमा सुविधा र १ लाख रुपैयाँसम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। औषधी उपचार बीमा अन्तर्गत बैंकले बहिरंग उपचारमा २० हजार रुपैयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रुपैयाँसम्मको बीमा सुविधा प्रदान गर्ने बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । उल्लेखित बीमा सुविधाहरू बैंकले नेपाल इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा खातावाललाई प्रदान गर्नेछ ।
बैंकले २० चैत्र २०७५ देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस अघिका बचत खाताहरूमा प्रदान गरेको बीमा सुविधालाई ग्राहक महानुभावहरूले अत्यन्त मन पराएकाले यस बचत योजनामा समेत उक्त योजनालाई निरन्तरता दिइएको जनाइएको छ । सोही बीमा सहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ६ सय १० जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको ३ करोड ८५ लाख रुपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेको जनाइएको छ।
साथै, सर्वश्रेष्ठ बचत खाता भएका ग्राहक महानुभावहरूले ३ कर्जा सम्बन्धी फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बीमा तथा कर्जा सम्बन्धी सर्वाधिक फाइदाहरूका साथसाथै १८ अन्य सर्वाधिक फाइदाहरू सर्वश्रेष्ठ बचत खातामा समाविष्ट गरिएको छ ।