बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन बाग्मती प्रदेशमा अधिकेन्द्रित
काठमाडौं, १६ कात्तिक । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन बाग्मती प्रदेशमा अधिकेन्द्रित रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको फाइनान्सियल सेक्टर्स रिपोर्ट मोबिलाइजेसन अन्डर फेडेरल स्ट्रक्चर अफ नेपाल’ अध्ययनले यस्तो देखाएको हो ।
प्रस्तुत अध्ययनले विभिन्न परिसूचकहरूको विश्लेषणका आधारमा केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा पहँुच तथा साधन परिचालन बाग्मती प्रदेशमा सबैभन्दा धेरै र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा न्यून रहेको देखाएको छ ।
प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामध्ये सबैभन्दा बढी (३४ प्रतिशत) बाग्मती प्रदेशमा र सबैभन्दा कम (४ प्रतिशत) कर्णाली प्रदेशमा रहेको छ । बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८.१ प्रतिशत बागमती प्रदेशमा रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा क्रमशः १.३ र ३.० प्रतिशत रहेको छ । यस्तै कुल कर्जाको ५६.६ प्रतिशत बाग्मती प्रदेशमा रहेको छ । कर्णाली प्रदेश १.२ र सुदूरपश्चिम प्रदेशमा ३.० प्रतिशत रहेको छ ।
अध्ययनमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहँुच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको छ । पछिल्ला वर्षहरूमा बाग्मती प्रदेशको तुलनामा अन्य प्रदेशमा साधन परिचालन क्रमिक रूपमा विस्तार भइरहेको अध्ययनले देखाएको छ ।
सहुलियतपूर्ण कर्जा र पुनरकर्जाको पहुँच बाग्मतीबाहेकका प्रदेशहरूमा उत्साहजनक रूपमा बढेको र औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकताप्राप्त क्षेत्र कर्जाको वितरण क्रमिक रूपमा सन्तुलित हँुदै गएको प्रतिवेदनमा उल्लेख छ । तथापि, वित्तीय पहुँच न्यून रहेका प्रदेशहरूमा साधन परिचालन अभिवृद्धि गर्न माग पक्षमा सुधार गर्नुपर्ने देखिएको अध्ययनले औंल्याएको छ ।