कोभिड सङ्क्रमण घट्दो क्रममा
काठमाडौं, २१ कात्तिक । पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहेको छ भने निको हुने दर समेत बढेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पीसीआर र एन्टिजेन विधिबाट कूल तीन हजार ९३२ को नमूना परीक्षण गर्दा १३९ जनामा सङ्क्रमण देखिएको छ ।
योसँगै नेपालमा कूल सङ्क्रममितको सङ्ख्या आठ लाख १४ हजार ४१७ पुगेको छ । सो अवधिमा ६४९ सङ्क्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार १४४ रहेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार कोभिडबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको छ । हालसम्म कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाउने जनसंख्या ३७.३ प्रतिशत पुगेका छन् भने ४३.९ प्रतिशतले यसविरुद्धको खोपको पहिलो मात्रा प्राप्त गरेका छन् ।