कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ
सुर्खेत, ७ मंसिर । रूख कटानको प्रक्रिया अघि नबढ्दा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम प्रभावित भएको छ । आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रका रुख कटान नहुँदा टावर निर्माणको कार्य प्रभावित भएको हो ।
आयोजनाले बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रअन्तर्गतका १३ हजार ११९ रुख कटान गर्न प्रस्ताव गरेको छ । आयोजना प्रमुख रविकुमार चौधरीले रुख कटानसम्बन्धी प्रस्ताव स्वीकृतिमा भएको ढिलाइले निर्माण प्रभावित हुने बताए । ‘आयोजना र नेपाल विद्युत् प्राधिकरणबाट सबै तयारी पूरा भइसकेको छ, मन्त्रिपरिषद्मा रूख कटानसम्बन्धी प्रस्ताव लैजाने काम वन तथा वातावरण मन्त्रालयको हो,’ उनले भने । निकुञ्ज क्षेत्रका रुख कटान गर्नुपर्ने भएकाले वन मन्त्रालयलाई समय लागेको हुन सक्ने उनको भनाइ थियो ।
आयोजना र भारतीय ठेकेदार कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच भएको सम्झौताअनुसार २०७९ भदौसम्म निर्माण पूरा गर्नुपर्नेछ । हालसम्म रुख कटान सुरु भएको छैन । रुख कटान नहुँदा टावर निर्माणको काम प्रभावित भएको छ । २०७७ असारमा ठेक्का सम्झौता भए पनि कम्पनीले यही भदौ तेस्रो सातादेखि निर्माणको काम थालेको हो ।