एमसीसी पास गर्न नेपाल सहमत
काठमाडौँ, १ पुस । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को त्रैमासिक बोर्ड बैठकमा नेपालबारे छलफल भएको छ । अमेरिकी सहयोग नियोगले एमसीसीको गएराति बसेको बैठकले नेपाल सरकारले एमसीसी पास गर्ने प्रतिबद्धता जनाएको भन्दै परियोजनालाई नेपालमा निरन्तरता दिने उल्लेख गरेको छ ।
नेपालमा संसदबाट एमसीसी पास गर्नका लागि संसदको बैठक आह्वान गरिएको चर्चा चलिरहँदा एमसीसी बोर्ड बैठकले नेपाल सरकार एमसीसी पास गर्न तयार रहेको भन्दै विज्ञप्ति जारी गर्नुले शंसय उत्पन्न गरेको छ । एमसीसी बैठकमा नेपालमा अहिलेसम्म भएका प्रगति र अनुमोदनबारे छलफल गरेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा गत कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा एमसीसी पास गराउन सहमत भएको भन्दै आफू र प्रचण्डले एमसीसीलाई पत्र लेखेको बताएका थिए ।
नेपालमा एमसीसी पास गराउन यसअघि एमसीसीकी उपाध्यक्ष फातिमा जी सुमर र एशिया हेर्ने सहायक उपाध्यक्ष जोनाथन ब्रूक्स नेपाल आएर शीर्ष नेताहरूसँग भेट गरेका थिए । उनीहरू अमेरिका फर्किएसँगै अमेरिकी उप सहायक विदेश मन्त्री जोनाथन हेनिक नेपाल आएर एमसीसी लागू गर्न दबाब दिएका थिए ।
यसैबीच प्रधानमन्त्री देउवाले एमसीसी पासका लागि सभामुख मनाउन ज्ञानेन्द्रवहादुर कार्की र पुष्पा भुसाल तथा एमालेसँग सहमति जुटाउन दिलेन्द्र बडूलाई देउवाले परिचालन गरेका छन् ।
एमसीसीसँग भएको अनुदानसम्बन्धी सम्झौता अनुमोदनका लागि लैजाने भएका छन् । त्यसका लागि उनले पार्टीका एक मन्त्री सहित दुई नेतालाई सभामुखसँगको परामर्श गरी बाताबरण निर्माणका लागि जिम्मेवारी समेत दिईसकेका छन् । अर्का एक मन्त्रीलाई एमाले अध्यक्ष केपी ओलीसँग बातावरण निर्माणमा परिचालन गरेका छन् ।
गठबन्धनका नेताहरु (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई उनले संसदमा अनुदान सम्झौता अनुमोदनका लागि लैजाने तर गठवन्धनमा रहेका दलका नेतालाई यस विषयमा स्वतन्त्र निर्णय गर्न पाउने गरी पास फेल जे गरेपनि गठवन्धनमा कुनै समस्या नरहने वचन दिएको स्रोतले बताएको छ । त्यसै आधारमा उनले सञ्चारमन्त्री समेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस प्रमुख सचेतक पुष्पा भुसाललाई संसदमा लैजाने बाताबरण निर्माणको जिम्मा दिएका छन् ।
उनीहरुले देउवाको त्यस्तो निर्देशनपछि सभामुख अग्नि सापकोटासँग मंगलवार सभामुखको कार्यकक्षमा पुगेर भेटवार्ता समेत गरिसकेका छन् । सभामुख सापकोटा भने यो विषय विवादमा रहेका कारण देशभित्रका राजनीतिक दलहरुका वीचमा सहमति गरेर मात्र अगाडी वढनुपर्ने पक्षमा छन् ।
देउवा भने एकपटक संसदमा लैजाने तर पास –फेल जे भएपनि संसदमा अधिकार दिनुपर्ने पक्षमा उभिएका छन् ।
प्रचण्ड र नेपाल भने यस विषयमा संसोधन विना पारित गर्न नसक्ने अडानमै छन् ।