Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्रको समृद्धि र आत्मनिर्भरताको पक्षमा नयाँ जागरणः अर्थमन्त्री शर्मा

राष्ट्रको समृद्धि र आत्मनिर्भरताको पक्षमा नयाँ जागरणः अर्थमन्त्री शर्मा

काठमाडौं, ०१ पुस । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधीनताका पक्षमा नयाँ जागरण पैदा गर्नुपर्ने बताएका छन् ।

बिहीबार जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै जनकलाकारहरूको कार्यभार राष्ट्रको समृद्धि र आत्मनिर्भरताको पक्षमा नयाँ जागरण ल्याउनु रहेको उनले बताएका हुन् ।

‘जनसांस्कृतिक महासंघसँग दुई वटा कार्यभार छन्’, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री शर्माले भने, ‘एउटा राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधीनताका पक्षमा नयाँ जागरण पैदा गर्ने, त्यस्तै श्रम संस्कृति, आत्मनिर्भरताको संस्कृति स्थापना गर्ने रहेको छ । अर्को सामाजिक सांस्कृतिक रूपान्तरण गर्ने ।’

राजनीतिक परिवर्तनहरू भए पनि सामाजिक, सांस्कृतिक परिवर्तनमा धेरै समय लाग्ने बताउनुहुँदै उनले यसको परिवर्तनका लागि महासंघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उल्लेख गरे ।

उहाँले समाजमा विद्यमान रहेका विभेद तथा विसङ्गति अनि भ्रष्टाचारविरुद्ध लड्न सके मात्र समाजवादको पथ पहिल्याउन सकिने बताउँदै सामुदायिक पुँजी निर्माण गरेर समाजवादको ‘भ्रुण’ निर्माण गर्नुपर्ने धारणा राखे । त्यसका लागि महासंघले आफ्नो जागरण मार्फत् नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनले औल्याएँ ।

‘समाजवादको जग हाल्नका लागि नारा मात्र भनेर हुँदैन’, उनले भने, ‘व्यक्तिगत प्रतिस्पर्धालाई नरोकी उत्पादनका साधन समुदायमा स्थापित हुने गरी समुदायको पुँजी निर्माण गरेर समाजवादको भ्रुण निर्माण गर्ने अभियानको नेतृत्व गर्नुपर्छ ।’

जनकलाकारहरूले सिर्जना गरेका सृजनाले नै दश वर्षे जनयुद्धलाई अगाडि बढाउन सहज गराएको स्मरण गर्नुहुँदै मन्त्री शर्माले कलाकारहरूलाई पुनः नयाँ जिम्मेवारी आएको धारणा राखे । उनले जनकलाकारलाई श्रम संस्कृति, उत्पादन संस्कृति, रुपान्तरणको संस्कृति, सदाचारको संस्कृति एवम् सामूहिकताको संस्कृति स्थापित गर्न जागरण ल्याउने कार्यभार भएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x