Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

तल्लो मोदी आयोजनाबाट विद्युत् उत्पादन शुरू

तल्लो मोदी आयोजनाबाट विद्युत् उत्पादन शुरू

पर्वत, २ पुस । पर्वतको मोदीखोलामा निर्मित २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरू भएको छ । निर्माण थालिएको ९ वर्षमा आयोजनाले विद्युत् उत्पादन शुरू गरेको हो । पर्वतको कुश्मा नगरपालिका–८ मा विद्युत्गृह र मोदी गाउँपालिका–२ मा बाँध रहेको यो आयोजनाले उत्पादित विद्युत् हालै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमानसहित २०६९ साउनमा शुरू भएको आयोजना ६० महीना अर्थात् २०७४ असारभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तर, भूकम्प, नाकाबन्दी, कामदारको आन्दोलन, उपकरणमा क्षति, मुआब्जा विवाद लगायत कारण निर्धारित समयभन्दा करिब ४ वर्ष ५ महिना ढिलाइ भएको हो ।
आयोजनाको विद्युत् करिब ५ सय मिटर टाढाको सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । समय लम्बिएसँगै विद्युत् उत्पादन लागत बढेको भए पनि आयोजनाले सार्वजनिक गरेको छैन । आयोजनाको सम्पूर्ण खर्चको विवरण सार्वजनिक भइनसकेको आयोजनाका प्रमुख पवनकुमार यादवले जानकारी दिए । ‘आयोजना सम्पन्न भएपछि हिसाब फरफारकका लागि काठमाडौंमा छु,’ उनले भने, ‘निर्माण अवधिभर भएको खर्च यकिन भइसकेको छैन ।’
२०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग खरिद सम्झौता भएको आयोजनाबाट वार्षिक ११ करोड ७० लाख युनिट बिजुली उत्पादन गर्ने लक्ष्य थियो । तर समयमै आयोजना नसकिँदा सम्झौता के हुने भन्ने निश्चित नभएको बताइएको छ ।
सुरुङ, विद्युत्गृहलगायत संरचना निर्माणकै क्रममा मानवीय तथा प्राकृतिक प्रतिकूलताका कारण उत्पादन मिति २ वर्ष पछि सरेको थियो । २०७२ को भूकम्प, स्थानीयको अवरोधलगायत कारणले क्षति बेहोरेको आयोजनाको परीक्षणका क्रममा सुरुङमा पानी चुहिएपछि उत्पादनको मिति सरेको हो । आयोजनाबाट उत्पादित बिजुली पातीचौरस्थित १३२ केभीए प्रसारण लाइनको सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा पठाइएको आयोजनाका सूचना अधिकारी सुरेन्द्र बेल्बासेले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x