१२ खर्बभन्दा बढीको अन्तर बैंक कारोबार
काठमाडौं, १४ पुस । चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा मुलुकका बैंक तथा वित्तीय संस्थाले १२ खर्बभन्दा बढीको अन्तर बैंक कारोबार गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकहरूको १० खर्ब ४३ अर्ब २२ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक)को १ खर्ब ५८ अर्ब ४० करोड गरी कुल १२ खर्ब १ अर्ब ६२ करोडको अन्तर–बैंक कारोबार भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ७१ अर्ब ८८ करोड र अन्य वित्तीय संस्थाहरुको ६१ अर्ब २० करोड गरी कुल १ खर्ब ३३ अर्ब ८ करोड अन्तर बैंक कारोबार भएको थियो ।
यसैगरी सो अवधिमा वाणिज्य बैंकहरूको औसत आधार दर २०७७ कात्तिकमा ७.५७ प्रतिशत रहेकोमा २०७८ कात्तिकमा ७.८२ प्रतिशत कायम भएको छ । २०७८ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.८० प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ९.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ५.३१ प्रतिशत र ९.५२ प्रतिशत रहेका थिए ।