Date

सोम, असार ३०, २०८२
Mon, July 14, 2025

प्रधानमन्त्रीको अध्यक्षतामा सम्पन्न मध्यपश्चिम विश्वविद्यालय सिनेट बैठकले १ अर्ब ३६ करोडको बजेट पारित

प्रधानमन्त्रीको अध्यक्षतामा सम्पन्न मध्यपश्चिम विश्वविद्यालय सिनेट बैठकले १ अर्ब ३६ करोडको बजेट पारित

काठमाडाैं, ३० असार । मध्यपश्चिम विश्वविद्यालयको १७औं सिनेट बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ। बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ (२०२५–२६) का लागि १ अर्ब ३६ करोड ७२ लाख १० हजार रुपैयाँको बजेट सर्वसम्मतिले पारित गरेको हो।

बैठकको अध्यक्षता प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले गरेका थिए। बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाकर कँडेलले प्रस्तुत गरेको बजेट तथा कार्यक्रमलाई स्वीकृति दिइएको हो। पारित बजेटअनुसार, ४६ करोड २५ लाख रुपैयाँ पूँजीगत खर्चका लागि विनियोजन गरिएको छ भने ९० करोड ५२ लाख २१ हजार रुपैयाँ चालू खर्चतर्फ छुट्याइएको छ।

बैठकमा आगामी वर्षका लागि विश्वविद्यालयको शैक्षिक कार्यक्रम, पूर्वाधार विकास, मानव संसाधन व्यवस्थापन र सेवा विस्तारसम्बन्धी योजनाहरू समेत समावेश गरिएको थियो। बैठकमा विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक सुधार, अनुसन्धान प्रवर्द्धन, प्रविधिमैत्री वातावरण र ग्रामीण क्षेत्रसम्म शिक्षा पहुँच विस्तार गर्नुपर्ने विषयमा पनि छलफल भएको जनाइएको छ। प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै शिक्षा क्षेत्रमा गुणस्तर र पहुँच दुबैको सन्तुलन आवश्यक रहेको औँल्याए। उनले मध्यपश्चिम विश्वविद्यालयलाई क्षमता र प्रभावकारिता बढाउँदै राष्ट्रिय शैक्षिक प्रणालीमा अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

सिनेट बैठकले विश्वविद्यालयको वार्षिक प्रगति, नीति तथा कार्यक्रमको समिक्षा गर्दै आगामी कार्यदिशाका प्राथमिकता समेत तय गरेको छ। विश्वविद्यालयले अगामी वर्षलाई “सुदृढ शैक्षिक आधार, पारदर्शी प्रशासन र डिजिटल ट्रान्सफर्मेसनको वर्ष” का रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *