बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको निष्क्रिय कर्जाको अनुपात घट्यो
काठमाडौं, २२ पुस । चालू आर्थिक वर्षमा पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये निष्क्रिय कर्जाको अनुपात घटेको छ । अर्थ मन्त्रालयको प्रतिवेदनका अनुसार कात्तिक मसान्तसम्ममा यस्तो कर्जाको अनुपात १.३७ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जाको अनुपात क्रमशः १.७३ प्रतिशत थियो ।
सोही अवधिमा विपन्न क्षेत्रतर्फ प्रवाहित कर्जा अनुपात ८.३९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको कात्तिक ससान्तसम्ममा यस्तो कर्जाको अनुपात ६.७८ प्रतिशत रहेको थियो । २०७८ कात्तिकसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । २०७७ कात्तिकसम्ममा ७४८ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको थियो । २०७७ कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको सङ्ख्या १४६ रहेकोमा गाभिने प्रकृया मार्फत् २०७८ कात्तिकमसान्तमा वित्तीय संस्थामा कमी आई १२९ कायम भएको छ ।