Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

तरलता अभावको समस्या माघसम्ममा सहज हुन्छ : अर्थमन्त्री शर्मा

तरलता अभावको समस्या माघसम्ममा सहज हुन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं, २६ पुस । हाल बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको समस्या माघसम्ममा सहज हुने अर्थमन्त्री जनार्दन शर्माले दाबी गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो उद्घोष गरेका हुन् ।

कार्यक्रममा अर्थमन्त्री शर्माले अहिलेको आर्थिक संकटका बेला बैंक तथा उद्योगहरू हातेमालो गरेर समाधानतिर लाग्नुपर्नेमा समेत जोड दिए । संकटका बेला बैंक तथा उद्योगहरूलाई सरकारले पनि छूट र सहुलियत दिनुपर्ने उनले बताए । साथै आयातमा मात्र आधारित भएर अर्थतन्त्र चल्न नसक्ने भन्दै उनले सरकारले पूँजीगत खर्चमा जोड दिने बताए ।

उक्त कार्यक्रममा सिबिफिनका अध्यक्ष पवन गोल्यानले वार्षिक २० खर्ब रेमिट्यान्स भित्रनुपर्नेमा अहिले १० खर्ब मात्र भित्रिएको भन्दै यसलाई बढाउन आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए । विदेशमा श्रमिकले पाउने ८० प्रतिशत रकम बैंकबाट भित्र्याउन अनिवार्य व्यवस्था मिलाउनुपर्ने उनले बताए ।

यसैबीच, अर्थमन्त्री शर्माले सुन्धाराको सीटीसी मलमा स्थापित सिबिफिनको नवनिर्मित कार्यालय भवनको उद्घाटन समेत गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x