Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

लक्षित जनसंख्याको ६१ प्रतिशतले पाए कोभिडविरुद्धको पूर्ण मात्रा खोप

लक्षित जनसंख्याको ६१ प्रतिशतले पाए कोभिडविरुद्धको पूर्ण मात्रा खोप

पूर्ण प्रसाद चौलागाईँ

काठमाडौं, ४ माघ । कोरोना भाइरसविरुद्धको खोप अभियान प्रगति लक्ष्य उन्मुख रहेको छ । सरकारले पुस मसान्तसम्ममा लक्षित जनसंख्याको दुई तिहाइलाई खोप दिने लक्ष्य लिएकोमा सो नजिक पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ७९ दशमलव ५ प्रतिशतलाई पहिलो मात्रा र करिब ६१ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको छ । सरकारले लिएको खोपको लक्ष्यअनुसार नै सफलता मिलेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । अहिलेसम्मको तथ्यांक हेर्दा मनाङ, मुस्ताङ र कास्कीमा शतप्रतिशत खोप दिइएको छ । सरकारले पुस मसान्तभित्र लक्ष्य जनसंख्याको दुई तिहाइलाई खोप दिने लक्ष्य लिएको थियो । यस्तै आगामी चैत मसान्तसम्ममा १६ वर्षमाथिका सबैलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

सरकारले १८ वर्षभन्दा माथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । पहिलो मात्रा एक करोड ५८ लाख ३७ हजार ६७१ जना र पूर्ण मात्रा एक लाख २१ हजार २७ लाख ८२९ जनाले लगाएका छन् । यसैगरी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मन्त्रालयले मोडर्ना र फाइजरको खोप लगाइरहेको छ । बालबालिकालाई अहिलेसम्म ५२ प्रतिशत पहिलो मात्रा र शून्य दशमलव १ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिए ।

उनका अनुसार प्रदेशअनुसार बागमती र गण्डकीले लक्ष्यअनुसार खोप लगाइसकेका छन् । बागमती प्रदेशले पहिलो मात्रा ८२ प्रतिशत र पूर्ण मात्रा ७६ प्रतिशत तथा गण्डकी प्रदेशले पहिलो मात्रा ८३ प्रतिशत र पूर्ण मात्रा ८२ प्रतिशतले खोप लगाइसकेका छन् । यस्तै प्रदेश नं १ ले पहिलो मात्रा ७४ प्रतिशत र पूर्ण मात्रा ५४ प्रतिशत, प्रदेश नंं २ ले पहिलो मात्रा ५७ प्रतिशत र पूर्ण मात्रा ४८ प्रतिशत, लुम्बिनी प्रदेशले पहिलो मात्रा ७३ प्रतिशत र पूर्ण मात्रा ५७ प्रतिशत, कर्णाली प्रदेशले पहिलो मात्रा ५६ प्रतिशत र पूर्ण मात्रा ५१ प्रतिशत तथा सुदूरपश्चिम प्रदेशले पहिलो मात्रा ६४ प्रतिशत र पूर्ण मात्रा ५९ प्रतिशतले खोप लगाइसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x