`भ्यालेन्टाइन डे´मा २ लाख ५० हजार स्टिक गुलाब खपत हुने, ९० प्रतिशत आयातकै भर
काठमाडौं, २३ माघ । यसवर्ष प्रेम दिवसका लागि भारतबाट ५० हजार बढी रातो गुलाब आयात गरिने भएको छ ।
प्रेमको प्रतीक मानिने रातो गुलाबको गतवर्ष एक लाख ८० हजार स्टिक माग रहेको थियो भने यसवर्ष ५० हजार स्टिकले बढी भएको बताइएको छ ।
हरेक वर्ष फेब्रुअरी १४ मा प्रणय दिवस (भ्यालेन्टाइन डे) मनाइँदै आएको छ ।
अघिल्लो वर्ष बजार मागको २० प्रतिशत स्वदेशी उत्पादन थियो । अहिले मागको दश प्रतिशत मात्र धान्ने अवस्था रहेको फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङ्ले जानकारी दिए । अध्यक्ष तामाङ्का अनुसार यसवर्ष दुई लाख ५० हजार स्टिक गुलाब खपत हुने अनुमान गरिएको छ ।
हरेक वर्ष दुई करोड रुपैयाँको गुलाबको आर्थिक कारोबार हुने गरेको छ । यसरी ल्याइने फूलमध्ये ४० प्रतिशत काठमाडौं उपत्यकामा र अन्य बाँकी उपत्यका बाहिरको मुख्य सहरमा खपत हुने गर्छ। यसवर्ष उपभोक्ताले गुलाबप्रति स्टिक ८० देखि एक सय रुपैयाँ सम्ममा खरित गर्नुपर्ने बताइएको छ ।