लक्ष्यको ५० प्रतिशत नाघ्यो सरकारको राजस्व संकलन
काठमाडौं, २५ माघ । लक्ष्य अनुसार पूँजीगत खर्च गर्न नसकेको सरकारको राजस्व संकलन भने सन्तोषजनक देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको सोमवारसम्मको तथ्यांक अनुसार सरकारको राजस्व आम्दानी वार्षिक लक्ष्यको ५० प्रतिशत नाघेको छ ।
चालू आर्थिक वर्षमा सरकारले कर र गैरकर राजस्वतर्फ गरी समग्रमा ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । आर्थिक वर्षको करिब ७ महिनामा (माघ २४)सम्ममा ५ खर्ब ९५ अर्ब ५५ करोड रुपैयाँ राजस्व असुली भएको छ, जुन लक्ष्यको ५०.४४ प्रतिशत हो ।
सो अवधिमा कर राजस्वतर्फको असुली लक्ष्यको ५१.०५ प्रतिशत र गैरकर राजस्व ४४.७५ प्रतिशत हासिल भएको छ । महालेखाका अनुसार कर राजस्वको वार्षिक लक्ष्य १० खर्ब ६७ अर्ब ९६ करोड रुपैयाँ रहेकोमा सोमवारसम्ममा ५ खर्ब ४५ अर्ब १४ करोड र गैरकरतर्फ १ खर्ब १२ अर्ब ६३ करोडको लक्ष्य रहेकोमा सो अवधिमा ५० अर्ब ४० करोड रुपैयाँ असुली भएको छ ।