क्रिप्टो करेन्सीको कारोबारमा कडा नियमन
काठमाडौं, ६ फागुन । सरकारले चालू आर्थिक वर्षमा बढेको शोधनान्तर घाटा, विप्रेषणमा आएको कमी तथा विदेशी मुद्राको सञ्चितिमा देखिएको कमीको मुख्य कारण क्रिप्टोको कारोबारलाई लिएको छ ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आएको छ । रेमिट्यान्समाा आएको कमीमा क्रिप्टो कारोबार पनि हो कि भन्ने बुझाइ रहेकोले समाधान गर्नका लागि सकिन्छ भनेर सरकारले चासोका साथ काम गरिरहेको राष्ट्र बैकले जनाएको छ ।
विदेशी मुद्राको सञ्चिति २ वर्षयताकै कम ११ खर्ब ६५ अर्ब ८० करोडमा झरेको छ । गत असारको तुलनामा २ खर्ब २४ अर्ब रुपैयाँ कमी आएको छ ।
शोधनान्तर (विदेशी राष्ट्रहरुसँग नेपालको मौद्रिक कारोबारको स्थिति) घाटा अघिल्लो वर्षको भन्दा २ खर्ब ४१ अर्ब २३ करोड पुगेको छ । यो गत वर्षको भन्दा १ खर्ब २० अर्ब रुपैयाँले बढी हो ।
राष्ट्र बैंकका केही अधिकारीका अनुसार नेपालीहरुले क्रिप्टोमा अर्ब होइन, खर्बौं लगानी गरिरहेका छन् । क्रिप्टोको कारोबार अनपेक्षित रुपमा बढेको छ । यसलाई नियमन गर्न चुनौतीपूर्ण बन्दै गएको राष्ट्र बैंकले जनाएको छ ।
कोभिडकालको असहज परिस्थितिमा समेत सामान्य देखिएका अर्थतन्त्रका कतिपय सूचकहरुले अहिले सरकारलाई दबाबमा राखेको छ ।
अर्थमन्त्री जनार्दन शर्मा स्वयमले क्रिप्टो, हाइपरफण्डमार्फत पुँजी पलायन भएको बताएका छन् । भर्चुअल मुद्राको अवैध कारोबार, हाइपर फन्डलगायतका कारण पुँजी विदेश पलायन भएको आशंका रहेको छ,२७ माघमा बजेटको अर्धवार्षिक समीक्षाका क्रममा अर्थमन्त्री शर्माले भनेका थिए ।