सुदूरपश्चिम सरकारले यो वर्ष ८० प्रतिशत विकास बजेट खर्च गर्ने
धनगढी, १६ फागुन । सुदूरपश्चिम प्रदेश सरकारले असारसम्म ८० प्रतिशतसम्म पुँजिगत खर्च हुने दावी गरेको छ । प्रदेश सरकारले आर्थिक बर्ष २०७६–७७ को ६ महिनामा १० दशमलब ३६ प्रतिशत र ०७७–७८ को यही अवधिमा ११ दशमलब ८५ प्रतिशत पुँजिगत खर्च गरेको थियो । तर, चालु आर्थिक वर्षको ६ महिनामा सुदूरपश्चिमले ८ दशमलब नौ प्रतिशतमात्र पुँजिगत खर्च गर्न सकेको छ ।
प्रदेशको जम्मा बिनियोजित १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार पुँजीगत बजेटमध्ये १ अर्ब ५७ करोड २० लाख ७२ हजार रुपयाँ मात्रै खर्च भएको प्रदेशको आर्थिक मामिला मन्त्रालयका कम्प्युटर अधिकृत मेखराज जोशीले जानकारी दिए ।
प्रदेशमा सबैभन्दा बढी प्रदेश निति तथा योजना आयोगले ३३ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३ प्रतिशत मात्रै खर्च गरेको छ । त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २४, प्रदेश लोकसेवा आयोगले २३, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २१ प्रतिशन खर्च गरेको छ । यस्तै सामाजिक विकास मन्त्रालयले २१, भूमि, ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १२, आर्थिक मामिला मन्त्रालले १०, भौतिक पूर्वाधार विकास मन्त्रालयले ९ प्रतिशत खर्च गरेको छ । मन्त्रालयले भने भौतिक प्रगति राम्रै भए पनि वित्तीय प्रगति मात्रै नदेखिएको दावी भौतिक पूर्वधार मन्त्रालयका सचिव तुलसीराम भट्टराईले जानकारी दिए ।
यो वर्ष पनि खर्च कम देखिनुमा दक्ष कर्मचारी अभाव, आयोजनाको प्राथमिकीकरण र बिनियोजन दक्षता कमजोर रहेको प्रदेश सरकारले जनाएको छ । प्रदेश गौरव तथा बहुवर्षिय योजनामा यथेष्ट बजेट नहुनु, टुक्रे योजनामै बजेट विनियोजन हुनुलगायत कारणले बजेट खर्च कम देखिएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।