शेयर बजारमा साताको सुरुवातमै नकारात्मक
काठमाडौं, २२ फागुन । गएको साता तीनको कारोबारमा ११४ अंकले घटेको नेप्से परिसूचक यो साता आइतबार पनि झिनो अंकले ओरालो लागेको छ । आइतबार परिसूचक ३.६६ अंकले घटेर बजार २५४३.३९ बिन्दुमा झरेको छ ।
आइतबार कारोबार रकम समेत घटेको छ । ५१ लाख ३९ हजार २ सय ३९ कित्ता शेयर किनबेच हुँदा ४५ हजार ६ सय २२ पटक कारोबार भएको थियो । जहाँ २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २ सय ७३ रूपैयाँ बराबरको कारोबार भएको छ । जहाँ १०१ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ७८ कम्पनीको मूल्य बढेको छ ।
शेयर बजारको बिग्रँदो अवस्था सुधारका लागि गतसाता बुधबार अर्थ मन्त्रालयमा भएको छलफलपछि यो साता सकारात्मक प्रभाव देखिने लगानीकर्ताहरूले आँकलन गरेका थिए । तर अझै बजारको अवस्था सुधारतर्फ देखिएको छैन । गएको बुधबारको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले इनसाइडर ट्रेडिङ गर्ने प्रवृति हटाउने विषय सरकारलाई चुनौती रहेको भन्दै लगानीकर्ताको सुरक्षा गर्नु सरकारको दायित्व भएको बताएका थिए ।