होली पर्व सुरू
काठमाडौं, २६ फागुन । रंगहरुको पर्व होली आज बिहिबारदेखि शुरु भएको छ । काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा चीर ठड्याएसँगै होली पर्व शुरू भएको मानिन्छ । बिहीबार बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर बसन्तपुरस्थित हनुमानढोकामा ठड्याइएको छ ।
चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो। हनुमानढोका परिसर, हनुमानढोका भित्र डाखचोक र मोहनकाली चोकमा पनि मयलरूखको हाँगामा रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याईएको चीर गाडिने गरिन्छ । आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुयाई दाह गरेपछि होली समाप्त हुन्छ ।
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ ।
यसवर्ष काठमाडौं लगायत पहाडी जिल्लाहरूमा चैत ३ गते र तराई मधेसका जिल्लाहरूमा चैत ४ गते होली पर्व परेको छ ।