Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अर्थतन्त्रमा बहुआयामिक असर

अर्थतन्त्रमा बहुआयामिक असर

काठमाडौं, ३० फागुन । पछिल्लो समय विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य आकाशिँदा नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा रुस–युक्रेन युद्धको प्रभाव मुख्य कारक बनेको छ । पेट्रोलियमको मूल्यवृद्धिले ढुवानी भाडा महँगिदा आयातित वस्तुको लागत बढेको छ । युक्रेन संकटको पहिलो प्रभाव पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको र यसले अर्थतन्त्रका अन्य आयामहरूमा समेत धक्का लाग्ने आँकलन गरिएको छ । यसले मुख्यतः पेट्रोलियम पदार्थको आपूर्ति, पर्यटन उद्योग, विप्रेषण आप्रवाह र वैदेशिक व्यापारको चक्र खल्बलिने देखिएको छ ।

यसैगरी हाल अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । विश्वबजारमा अमेरिकी डलरको भाउ महँगिदा नेपाली मुद्राको चर्को अवमूल्यन भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत मंगलवार अमेरिकी डलरसँग नेपाली मुद्राको विनिमयदर १२३ रुपैयाँ ४४ पैसा पुगेको थियो, जुन हालसम्मकै उच्च हो । डलरको भाउ बढ्दा केही क्षेत्रमा लाभ भए पनि वस्तु तथा सेवाको आयात लगायतमा बढी खर्चनुपर्ने भएकाले अर्थतन्त्रमा मिश्रित प्रभाव पर्ने विश्लेषण गरिएको छ ।

नेपालमा विदेशी विनिमय सञ्चिति यसै पनि कमजोर रहेको छ । यस्तै विप्रेषण आप्रवाह खुम्चिँदै गएको छ भने व्यापार घाटा र शोधनान्तर घाटा समेत चुलिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । भुक्तानी प्रणाली र बाह्य क्षेत्रमा परेको दबाबले यस वर्ष अर्थतन्त्र वृद्धिको लक्ष्य हासिल गर्न पनि चुनौती देखिएको छ । अर्थतन्त्रमा देखिएको अहिलेको असहज अवस्था सन्तुलनमा राख्न सरकारले गम्भीर रूपमा सोच्नुपर्ने र ठोस नीतिगत कदम चाल्नुपर्ने सुझाइएको छ ।

चालु आर्थिक वर्षको ७ महिनामा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले घटेर ५ खर्ब ४० अर्ब १२ करोडमा सीमित रहेको छ । गतवर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । यस्तै शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको छ भने विदेशी मुद्राको सञ्चिति ९ अर्ब ७५ करोड अमेरिकी डलर रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यसले ६ महिनाको वस्तु तथा सेवाको आयात मात्र धान्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x