साईकल यात्रामा निस्कन लागेका लामालाई पर्यटन बोर्डमा विदाई
काठमाडौं, ७ चैत । नेपालको साहसिक पर्यटन प्रर्वद्धनका लागि एकल साइकिल यात्रा गर्न लागेका नेपाली साइक्लिस्ट मंगल कुमार लामालाई पर्यटन बोर्डबाट विदाई गरिएको छ ।
लामाले पूर्वको कञ्चनजंघा देखि सुदुरपश्चिमको सिमिकोट हिल्सासम्म एकल साइकल यात्रा गर्ने भएका छन् । साईकल यात्रामा निस्कन लागेका लामालाई आइतबार पर्यटन बोर्डमा विदाई गरिएको हो । नेपाल पर्यटन बोर्डको प्रर्वद्धन र जिएचटी अन व्हीलको आयोजनामा हुन लागेको यो यात्रामा विभिन्न संघसंस्थाहरुको सहयोग रहेको यो यात्रा १७ सय किलोमिटर लामो रहने बताइएको छ ।
विदाई कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री अजय शाहले नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै लामाको साइकल यात्राले नेपालको साहसिक पर्यटनमा थप टेवा पुग्ने बताएका थिए ।
यस्तै बोर्डका निर्देशक मणिराज लामिछानेले साहसिक पर्यटन प्रर्वद्धनका लागि बोर्डले विभिन्न कार्यक्रमरू सञ्चालन गरिरहेको जानकारी दिँदै यो रुटलाई नयाँ प्रडक्टको रुपमा प्रर्वद्धन गर्न र साहसिक पर्यटनमा सहभागीलाई बोर्डले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए । सो कार्यक्रमा बोर्डका प्रबन्धक अर्चना केसी राणाले यस प्रकारका कार्यक्रमले नेपाली पर्यटनमा नयाँ आयाम थप्ने बताउँदै लामालाई सफल यत्राको शुभकामना व्यक्त गरेकी थिइन ।
साईक्लिस्ट लामाले देशको पहिचानको लागि आफुले कठिन र जोखिमपूर्ण यात्रामा निसक्न लागेको बताउँदै यस प्रकारका कार्यक्रममा बोर्ड सहित अन्य सरकारी निकायको सहयोग आवश्यक रहेको बताएक थिए । सो यात्रा चैत्र १८ गते देखि कञ्चनजंघा देखि साइकल यात्रा शुरु गर्ने र सो यात्रा ६० देखि ७० दिनसम्मको हुने आयोजकले जानकारी दिएको छ ।