नेपाल रिको व्यावसायिक रणनीतिमा परिवर्तन
काठमाडौं, ९ चैत्र । पुनर्बिमा व्यवसायमा एकछत्र राज गरिरहेको सरकारको समेत लगानी भएको नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेड हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रवेशपछि अहिले आक्रामक रुपमा अघि बढेको छ । कम्पनीले अहिले व्यवसायको रणनीतिसमेत परिवर्तन गरेको छ ।
उक्त क्षेत्रमा नयाँ कम्पनीको प्रवेश हुनुपूर्व सुस्त गतिमा रहेको नेपाल रि हिमालयन रि इन्स्योरेन्सले कारोबार सुरु गरेपछि अहिले आक्रामक रुपमा बजार विस्तारमा लागेको छ । नयाँ कम्पनी थपिएपछि बिजनेस माग्न अहिले नेपाल रि बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुसँगको भेटलाई बढाएको छ ।
हिमालयन रिमा भारतको बिमा क्षेत्रमा काम गरेका अनुभवी सीईओ आएपछि भएभरको बिजनेस उतैतिर जाने डरले गर्दा नेपाल रिले आफ्नो पुरातन सोच परिवर्तन गरेर नयाँ शैली अपनाएको बिमा कम्पनीका सीईओहरु बताउँछन् ।
हिमालयन रि इन्स्योरेन्स कम्पनीले कारोबार गर्ने अनुमति पाएपछि बजारमा एकाधिकार जमाएको नेपाल पुनर्बिमा कम्पनीलाई अहिले व्यवासायिक दबाब परेको छ । हिमालयन रि ले आफ्नो कम्पनी औपचारिक रुपमा सार्वजनिक गर्दा बिमा कम्पनीका सबैं सीईओ र सञ्चालकलाई बोलाएर ठमेलको एलफ्ट होटलमा डिनरसमेत दिएको थियो ।
व्यापारमा अब्बल मानिएका व्यक्तिहरुको लगानीमा हिमालयन रि खुलेको हो । नेपालबाट असफल भइसकेको ब्राण्डलाई आफूले लिएर त्यसलाई नम्बर वान बनाउन सक्ने व्यक्तिहरुले हिमालयन रि लिएका छन् । उनीहरुले भारतका बिमा क्षेत्रका बिख्यात प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखरण रामामूर्ति आइसकेपछि आफू लोएल्टी भएर मात्रै व्यापार गर्न सकिन्छ भन्ने सिकाएका छन् । त्यसका अलवा कम्पनीलाई सिष्टमेटिक रुपमा लैजाने तरिकासमेत रामामूर्तिले सिकाएपछि नेपाल रिले पनि आफ्नो पुरानो सोचलाई परिवर्तन गरेको यस क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतहरु बताउँछन् ।
हिमालयन रिले डिनर मिटिङ गरेको एक महिनाअघि नेपाल रिले बिमा कम्पनीका सीईओलाई (जीवन र निर्जीवन बिमा) चितवन पुर्याएको थियो । अन्तर्राष्ट्रिय प्रशिक्षक ल्याएर सीईओलाई तालिम दिने भन्दै नेपाल पुनर्बिमा कम्पनीले चितवन लगेको थियो ।
सञ्चालनमा आएको लामो समयसम्म बिजनेसका लागि बिमा कम्पनीका कार्यालयसम्म नपुगेको नेपाल रि अहिले बजारमा दौडधुप मात्रै होइन्, उसको शैलीसमेत फेरिएको छ ।
सरकारी रुखो बोलीबाट अहिले अहिले नम्र व्यवहार देखाएर व्यवसाय फकाइरहेको छ । यसको प्रमुख कारण भनेको हिमालयन रिको प्रवेशले हो । काठमाडौंबाट चितवनसम्म पुर्याएर सिईओलाई तालिम दिन थालेपछि नेपाल पुनर्बिमा कम्पनी माथि व्यावसायिक चाप परेको प्रस्टै देखिन्छ ।
सञ्चालनमा आएको झण्डै ७ वर्षसम्म सरकारले दिएको २० प्रतिशत अनिवार्य सुविधामा रमाएको नेपाल रि बजारमा प्रतिस्पर्धी कम्पनी हिमालयन रि आएसँगै जुर्मुराएको हो ।
नेपाल रिले व्यावसायिक योजना बनाउन नसकेको भन्दै कतिपय बिमा कम्पनीहरुले २० प्रतिशतको प्रावधान क्रस गर्दै विदेशसमेत पुग्ने गरेका थिए ।
हिमालय रि ले एक÷दुइवटा प्रोग्राम गरेपछि नेपाल रिलाई दबाब पर्नु स्वाभाविक भएको बिमा कम्पनी बताउँछन् । शिखर इनस्योरेन्सका सीईओ तथा नेपाल रिका सञ्चालक दीपप्रकाश पाण्डे बजारमा नयाँ कम्पनी आईसकेपछि दबाव पर्नु स्भाविक भएको बताउँछन् । तर बाहिर हल्ला भएजस्तो बिजनेस प्लान नभएको भन्न नमिल्ने उनको तर्क छ ।
२०७१ सालमा स्थापना हुँदा नै तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले नेपालका बिमा कम्पनीहरुले पुनर्बिमाको २० प्रतिशत नेपाल रि मै गर्नुपर्ने प्रवाधान ल्याएका थिए । सोही व्यवस्था अनुसार हालसम्म नेपाल रिले २० प्रतिशतको बिजनेस पाएको छ ।
चालू आर्थिक बर्षको दोस्रो चौमासिकसम्म नेपालका जीवन र निर्जीवन बिमा कम्पनीहरुले १ अर्ब ३१ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । यसको २० प्रतिशत नेपाल रिले प्राप्त गरेको छ ।
तर, अहिले हिमालयन रिले पनि २० प्रतिशतको माग गर्दै बिमा समितिमा आवेदन दिन थालेपछि नेपाल रि अत्तालिएको छ । ठूला व्यापारीद्धारा सञ्चालित हिमालयन रिले पटक पटक २० प्रतिशतको माग गर्दे बिमा समितिमा निवेदन दिएपछि नेपाल रिले पुरातन सोचलाई लोएल्टीमा बदलेको हो ।
२०७१ सालमा एउटा मात्रै पुनर्बिमा कम्पनी भएकोले सरकारले नेपाल रिलाई २० प्रतिशतको सुविधा दिएको थियो । तर, चालू आर्थिक वर्षदेखि हिमालयन रिले पनि कारोबारको अनुमति पाइसकेको छ । हिमालयन रिले सरकारले यस्तो विभेदकारी नीति लिन नहुने भन्दै सरकारलाई दवाब दिइरहेको छ ।