पर्यटनमा लगानी बढ्दो प्राथमिकतामा होटल
काठमाडौं, २६ चैत्र । पर्यटकीय पूर्वाधारमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । राजधानी लगायत नेपालभर पर्यटकीय पूर्वाधारमा वृहत लगानी विस्तार भइरहेको छ ।
कोरोना महामारी सुरू हुनअघि नै सुरु भएर रोकिएका परियोजनाहरू अहिले पुनःसुरु भएका छन् भने नयाँ परियोजना पनि अघि बढ्न थालेका छन् ।
पर्यटनमा पनि होटलमा हुने लगानी बढ्दो ट्रेन्डमा छ । उत्पादनमुलक तथा अन्य व्यवसायमा रहेकाहरु होटलमा लगानी गर्न अघि बढेका छन् ।
हाल काठमाडौं उपत्यकामै पाँच तारे स्तरका एक दर्जन होटल परियोजना निर्माणाधीन छन् । होटल पर्यटन क्षेत्रमा स्थापित व्यवसायी तथा औद्योगिक घरानाले होटलमा लगानी बढाउँदै गएका छन् ।
कोरोनाअघिको समयमा नेपालमा पर्यटक आगामनको संख्या बढ्दै गएको थियो । कोरोना महामारी साम्य हुनेवित्तिकै पर्यटक आगमन बढ्ने विश्वासमा व्यवसायीहरूले होटलमा धमाधम लगानी बढाइरहेका छन् ।
काठमाडौंमा निर्माणाधनी तथा निर्माणको चरणमा प्रवेशका गरेकामध्ये सबैभन्दा ठूलो परियोजना हो सुप्रभ्य होटल एन्ड रिसोर्ट प्रालिको परियोजना । सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शमशेर राणाको यो कम्पनीले काठमाडौंमा भारतबाट सुरु भएको ‘द ओबराय’ चेनको नाममा होटल सञ्चालन गर्नेगरी निर्माणको काम अघि बढाउन लागेको छ । काठमाडौंको रबिभवनमा रहेको ४६ रोपनी जाग्गामा भवन निर्माणको काम सुरु भइकसेको छ । यसको अहिले साइट क्लेरेन्सको काम भइरहेको छ । काठमाडौंमा ४६ रोपनीमा निर्माण हुने उक्त होटलको लगानी लगानीकर्ताहरूले नखुलाए पनि १५ देखि २० अर्ब रुपैयाँ हुने अनुमान गरेका छन् । जग्गाबाहेक भवनमा मात्रै हुने उक्त ठूलो लगानी नेपालमा हालसम्मकै ठूलो हुने छ। सन् २०२६ सम्म सञ्चालनमा ल्याउने लक्ष्य लगानीकर्ता राणाको लक्ष्य छ ।
गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेको लगानीमा निर्माण भइरहेको सेराटन काठमाडौं पनि पाँचतारे स्तरकै होटल हो । कोरोना महामारीका कारणले निर्माणमा ढिलाइ भएको होटलमा १० अर्ब लगानी भइसकेको छ । लगानी अझै बढ्ने अनुमान गरिएको छ । काठमाडौंको लैनचौरमा निर्माण भइरहेको होटलमा २२० कोठा हुनेछन् ।
अर्को ठूलो होटल परियोजना हो सेन्ट रेगिज । हालको समिट होटल भएको ठाउँमा निर्माण हुन लागेको यो लक्जरी होटल अपार्टमेन्टसहितको हुनेछ। विनोद चौधरी र रविभक्त श्रेष्ठको लगानी रहेको यो परियोजनाको पहिलो चरणमा कम्तिमा पाँच अर्ब लगानी हुने लगानीकर्ताको अनुमान छ। अहिले चल्तीमा रहेका भन्दा सुविधासम्पन्न र फरक मोडालिटीमा अपार्टमेन्ट ल्याउन खोजिएको होटल १६ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ ।
कर्मा ग्रुप अफ कम्पनीले महाराजञ्जमा अपार्टमेन्ट सहितको पाँचतारे होटल सञ्चालनमा ल्याउँदैछ । त्यो होटलको व्यवस्थापनमा म्यारियटकै प्रिमियम ब्रान्ड ले मेरिडियन आउने एग्रिमेन्ट भइसकेको छ। सन् २०२६ सम्म सञ्चालनमा ल्याइसक्ने लक्ष्यमा रहेको होटलमा ६ अर्बको लगानी अनुमान गरिएको छ ।
गोपिकृष्ण चलचित्र हल भएको ठाउँमा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्ससँगै तारे होटल पनि निर्माण हुने भएको छ । यसअघि मल्टिकम्प्लेसको योजनामा रहेका लगानीकर्ताले अहिले होटलसहितको गोपिकृष्ण सेन्ट्रल कम्प्लेस बनाउन लागेका हुन् । २ अर्ब ५० करोड लगानीमा तारे होटल निर्माण गर्ने योजना लगानीकर्ताको छ ।
अरुण चौधरीले पुल्चोकमा पाँचतारे होटल निर्माण गरिरहेका छन् । अन्तर्राष्ट्रिय चेन ब्रान्ड होली डे इनको नामबाट सञ्चालन हुने यो होटल निर्माण सम्पन्न हुनेक्रममा छ ।
त्यस्तै काठमाडौंमै ग्रिन भ्यू प्रालिले १ अर्ब लगानीमा ६० बेडको होटल सञ्चालन गर्ने योजना अघि बढाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य देशबन्धु वस्नेतले काठमाडौंमा पाँचतारे होटल सञ्चालनमा ल्याउने तयारी गरेका छन् । पर्यटन व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी समिति सदस्य देशबन्धु बस्नेतले पाँच तारे होटल सञ्चालनमा ल्याउने भएको छन् । यो होटलमा १ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ लगानी हुने छ । काठमाडौंको सुकेधारामा होटल निर्माण भइरहेको छ । दी मेट्रोपोलिटियन होटल प्रालिको नाममा होटल सञ्चालन हुने भएको छ ।
काठमाडौंको नक्सालमा निर्माणाधीन होटल हिल्टन पनि पाँचतारे होटल परियोजना हो । यो होटलमा पाँच अर्ब बढीको लगानी हुने बताइएको छ । कोरोना महामारीका कारणले सञ्चालनमा ढिलाइ आएको यो परियोजना छिटै सञ्चालनमा आउने बताइएको छ ।
त्यस्तै पोखरा तथा चितवनमा होटल रिसोर्ट चाइरहेको बाराही समूहले काठमाडौंमा बाराही होटल निर्माण गरिरहेको छ ।
सूर्य नेपाल प्रालिले काठमाडौंमा होटल सञ्चालन गर्दै छ। ५ अर्ब ९९ करोड लगानी गरेर १९० बेडको होटल सञ्चालन गर्ने सूर्य नेपालको योजना रहेको छ ।
काठमाडौंमा म्यारियट र फेयरफिल्ड म्यारियट होटल सञ्चालन गरिरहेको एमएस समूहले पनि मोक्सी काठमाडौं होटल निर्माणको काम अघि बढाएको छ । १ अर्ब ५० करोड बढीको लगानी हुने यो होटलको निर्माण कार्य अघि बढिसकेको छ ।
त्यस्तै शेहेन्सा काठमाडौंको पुर्निर्माण हुँदैछ भने अन्नपूर्ण होटलको पनि फेरि नयाँ संरचना निर्माण हुने भएको छ। यस बाहेक अरु पर्यटक स्तरीय होटल पनि निर्माणाधीन छन् ।
काठमाडौंमा तीनवटा ठूला पाँचतारे होटल सञ्चालनमा आइसकेका छन् । म्यारियट काठमाडौं,अलफ्ट र ह्यात प्यालेस काठमाडौंमा सञ्चालन भएका नयाँ पाँचतारे होटल हुन् ।
त्यस्तै चन्द्रागिरि हिल्स रिसोर्ट पनि पछिल्लो समय सञ्चालनमा आएको ठूलो होटल परियोजना हो ।
सरकारको तथ्यांक अनुसार २०७७÷७८ को अन्तिमसम्म कूल होटलको संख्या १ हजार ३१३ पुगेको छ । सरकारबाट अनुमति लिएर सेवा दिइरहेका यस्ता होटलमा कूल ४५ हजार ८५० बेड पुगेका छन् ।
यसमा तारे होटल १४२ पुगेका छन् भने तारा नलिएका होटलको संख्या ११ सय ७१ छ । यसमा रिसोर्टको संख्या अलग छ ।
पर्यटन विभागका अनुसार हालसम्म एकतारे होटलको संख्या ३४ छ। एकातारे होटलमा कूल १३४४ बेड छन् । त्यस्तै दुई तारे स्तरका होटल ४१ छन् । दुई तारे होटलमा २८८० बेड छन् ।
३४ तीन तारे होटलमा ३४१२ बेड छन् भने १९ चार तारे होटलमा २४८७ बेड छन् । १५ पाँच तारे होटलमा एउटा सञ्चालनमा छैन । भने एउटा पाँचतारे डिलक्स होटल छ भने तीनवटा हेरिटेज बुटिक होटल छन् । त्यस्तै नेपालमा ९९ रिसोर्ट छन् भने एउटा डिलक्स र एउटा लक्जरी रिसोर्ट रहेको छ ।