काठमाडौं महानगरको नयाँ आर्थिक वर्षको बजेट २५ अर्ब ११ करोड : पूर्वाधारमै केन्द्रित हुने

काठमाडाैं, २७ असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु २५ अर्ब ११ करोड १३ लाख ४० हजार बराबरको बजेट सीमा निर्धारण गरेको छ। शुक्रबार नगरप्रमुख बालेन्द्र साह (बालेन)को कार्यालयमा बसेको बजेट अनुमान तथा सीमा निर्धारण समितिको बैठकले यो निर्णय गरेको हो।
उक्त बैठकमा समितिका सदस्य सचिव तथा प्रमुख प्रशासनिक अधिकृत सरोज गुरागाईं, उपप्रमुख सुनिता डंगोल, विभिन्न वडाका अध्यक्षहरू सहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकमा महानगरको आय–व्ययको अवस्था, आगामी योजनाहरूको प्राथमिकता, र नगरको समग्र विकास दृष्टिकोणलाई ध्यानमा राखी बजेट सीमा तय गरिएको हो।
महानगरपालिकाले प्रस्तुत बजेटलाई विभिन्न क्षेत्रअनुसार बाँडफाँट गरेको छ। पूर्वाधार विकासमा सबैभन्दा ठूलो हिस्सा अर्थात् ५१ प्रतिशत छुट्याइएको छ। त्यसपछि सामाजिक विकासमा २० प्रतिशत, सञ्चालन तथा प्रशासनमा १४ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धमा १२ प्रतिशत, र आर्थिक क्षेत्रका कार्यक्रमहरूमा ३ प्रतिशत बजेट विनियोजन गरिएको छ।
नगरप्रमुख बालेन्द्र साहले बैठकमा बजेट निर्माणको क्रममा दिगो विकास, समावेशी नीति र न्यायोचित वितरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। उपप्रमुख सुनिता डंगोलले सामाजिक क्षेत्रका कार्यक्रमहरूलाई अझ प्रभावकारी, बालमैत्री र महिला तथा जेन्डर समावेशी बनाउने दिशामा बजेट केन्द्रित गरिनुपर्ने बताइन्।
यसपटकको बजेटको संरचना हेर्दा महानगरले आफ्नो ध्यान मुख्यतः पूर्वाधार निर्माण र सुधारतर्फ केन्द्रित गरेको देखिन्छ। यातायात सुधार, ढल तथा फोहोर व्यवस्थापन, सडक मर्मत–विस्तार, तथा स्मार्ट सिटी अवधारणाअन्तर्गतका योजनाहरूलाई प्राथमिकता दिइनेछ।