Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

फागुनमा विप्रेषण आप्रवाह १.७ प्रतिशतले घट्यो

फागुनमा विप्रेषण आप्रवाह १.७ प्रतिशतले घट्यो

काठमाडौं, २९ चैत्र । चालु आर्थिक वर्षको फागुन महिनामा विप्रेषण आप्रवाहमा कमी आएको छ भने विदेशी विनिमय सञ्चिति थप झरेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको आर्थिक एवं वित्तीय अवस्थामा समीक्षा अवधिमा विप्रेषण आप्रवाह १.७ प्रतिशतले कमी आई ६३१ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई पाँच अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.० प्रतिशतले बढेको थियो ।

माघको तुलनामा भने विप्रेषण आप्रवाह केही बढेको हो । माघमा ५४० अर्ब १२ करोड कायम थियो ।

०७८ असार मसान्तमा १,३९९ अर्ब तीन करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पनि १६.३ प्रतिशतले कमी आई ०७८ फागुन मसान्तमा १,१७१ अर्ब कायम भएको छ । ०७८ माघ मसान्तमा ११७३ अर्ब दुई करोड थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति ०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा ०७८ फागुन मसान्तमा १८.५ प्रतिशतले कमी आई नौ अर्ब ५८ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ०७८ असार मसान्तमा १,२४४ अर्ब ६३ करोड रहेकामा ०७८ फागुन मसान्तमा १८.२ प्रतिशतले कमी आई १,०१८ अर्ब पाँच करोड कायम भएको छ । ०७८ माघ मसान्तमा १,०२४ अर्ब ६० करोड कायम भएको थियो ।

राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रहेकामा ०७८ फागुन मसान्तमा ०.९ प्रतिशतले कमी आई १५२ अर्ब ९५ करोड कायम भएको छ । ०७८ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८÷७९ को आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

०७८ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २७.४ प्रतिशत, ५५.६ प्रतिशत र २२.० प्रतिशत रहेका छन् । ०७८ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x