Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लगानीकर्ताको अहिलेको अवस्थाः अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ !

लगानीकर्ताको अहिलेको अवस्थाः अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ !

काठमाडौं, २९ चैत्र । उच्च अंकमा पुगेको शेयर बजार मंगलबार पनि बजार ३४.७८ अंकले घटेर २३८५.०२ बिन्दुमा आइपुगेको छ । सूचकले अझै बजार घट्ने देखिएकोले कम्तीमा २२०० मा पुगेर मात्रै टेको लाग्ने देखिएको छ ।

मंगलबार १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँको मात्र कारोबार भएको छ । जहाँ १३ कम्पनीको शेयर मूल्य बढ्दा १७७ कम्पनीको मूल्य घटेको छ । पाँच कम्पनीको शेयर मूल्यमा परिवर्तन भएको छैन ।

कूल २३७ कम्पनीको ३१ हजार ५ सय ७६ कारोबारबाट ३७ लाख ८३ हजार २४ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते ३२०० भन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो । त्यसको अघिल्लो दिन बजार ३१९९.०३ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । सो बिन्दुबाट बजार ८२० अंकले घटेको छ । त्यसयता शेयर बजार निरन्तर घट्दो क्रममा नै रहेको छ । केही उतारचढाव देखिए पनि बजारले लय समात्न सकेको छैन। अर्थतन्त्रमा देखिएको संकटमा आगामी दिनमा आउने सक्ने जोखिम मोल्न लगानीकर्ताहरू तयार भएका छैनन् ।


हिजो सोमबार ४४.६४ अंकको गिरावट आएको थियो । ४४.५६ अंकले घटेर बजार २४१९.८० बिन्दुमा झरेको थियो । सोमबार २ अर्ब २६ करोड रूपैयाँको कारोबार भएको थियो ।


गएको साता कारोबारको चार दिन बजार घटेपनि अन्तिम दिन बिहीबार भने बजारमा हरियाली छाएको थियो । गएको साता आइतबार ३०.८९ अंकले घटेको बजारमा सोमबार १६.०९ अंकको गिरावट आएको थियो। मंगलबार पनि बजारमा ४६.४६ अंकले गिरावट आएकोमा बुधबारसमेत २३.३२ अंकको गिरावट आएको थियो। कारोबारको चार दिनमा ११६.७६ अंकले गिरावट आएको बजारमा बिहीबारको ३५.६६ अंकको वृद्धिले केही राहत मिलेको थियो ।

यो साताको पहिलो कारोबारको दिन सोमबार नेप्से घटेपनि अस्ति आईतबार सार्बजनिक बिदा भएकाले शेयर बजार खुलेन । गत बिहिबार सरकारले राष्ट्र बैंकका गभर्नरलाई विभिन्न आरोपहरु लगाउँदै छानबिन गर्ने निर्णय गरेसँगै सेयर बजार तिब्र रुपमा बढ्ने धेरैको विश्लेषण थियो । त्यस्तै आईतबार मात्रै वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बैशाख महिनामा निक्षेपतर्फको ब्याजदर नबढाउने निर्णय पनि गरेको थियो ।


२९८३ को बिन्दुबाट तलतिर खस्न थालेको बजार २४०० आसपासमा आइपुगिसकेको अवस्थामा ब्याजदर नबढ्ने र पुँजीबजार मैत्री नमानिएका गभर्नर निलम्बन हुँदा यी दुईवटा समाचारहरुले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने अनुमान धेरैले गरेका थिए । यदि गभर्नरलाई निलम्बन नगरिएको अवस्था हुन्थ्यो भने पनि ब्याजदर नबढ्दा सेयर बजार बढ्ने आँकलन विश्लेषकहरुले गरेका थिए । पछिल्लो समय निक्षेप पनि लगातारजसो बढ्दै गईरहेको छ ।


आयातमा थप कडाई गर्न अत्यावश्यक बाहेकका बस्तुहरुमा एलसी नखोल्न पनि बैंकहरु सहमत भएका छन । मुलुक निर्वाचनको संघारमा रहँदा तरलता पनि सहज भएर जाने अपेक्षा गर्न सकिन्छ । यी सबै सकारात्मक परिदृश्यहरु बजारमा हुँदा हुँदै पनि बजार किन उच्च अंकले घट्यो ? बढ्छ भनेर अपेक्षा गरिएको अवस्थामा बजार घट्नुलाई कसरी लिने ?बहस शुरु भएको छ ।


पछिल्लो समय अर्थतन्त्र संकट उन्मुख भईरहेको अवस्थामा राष्ट्र बैंकका गभर्नरको निलम्बनले अर्थतन्त्रलाई थप संकट उन्मुख बनाउने भन्दै अर्थशास्त्री तथा बुद्धिजीवीहरुले चिन्ता व्यक्त गर्दै गर्दा आम लगानीकर्ताहरुको मनोबल गिरेको देखिन्छ । नेकपा एमालेले गरेको एक पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्रीहरुले अर्थतन्त्र जर्जर भैसकेको र नेपालको अवस्था श्रीलंकाको जस्तो बन्न धेरै समय नलाग्ने बताएका थिए । त्यसले पनि आम लगानीकर्ताको मनोविज्ञानमा त्रास संचार गरिएको हो कि भन्ने विश्लेषण पनि धेरैले गरेका छन ।

विशेषगरी अन्तिम समय नेप्से डाउन ट्रेन्डमा चल्दै गर्दा राम्रा समाचारहरु आउँदा नाफा बुक गर्न खोज्नेहरुको संख्या बढ्ने र सेलिङ्ग प्रेसर आउने गरेको छ। नकारात्मक समाचारहरुमा रिटेल लगानीकर्ताहरु आत्तिएर सेयर बेच्नतिर लाग्ने र सकारात्मक समाचारहरु आउने बित्तिकै अब किन्नै पाइदैन कि जसरी उच्च मूल्यमै भएपनि किन्छु भनेर बाई अर्डर राख्ने कुरालाई राम्ररी बुझेका स्मार्ट लगानीकर्ताहरुले यो प्याटर्नलाई टपक्कै समातेर ट्रेड गरिरहेको पनि देखिएको छ।

नेपालीमा प्रचलित एउटा उखान छ, अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ । यसअघिका राम्रा समाचारहरुलाई बेच्ने अवसरका रुपमा प्रयोग गर्नेहरुले जिते किनकि त्यो समयमा बजार मूल्य माथि माथि नै थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x