पर्यटन क्षेत्रमा वर्ष २०७८ : निराशा र चुनौतीसँगै उत्तरार्द्धमा उत्साह
पूर्ण प्रसाद चौलागाईँ
काठमाडौं, १ वैशाख । मुलुकको पर्यटन क्षेत्रका लागि विसं २०७८ निकै निरासाजनक बन्यो । कोभिड–१९ महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो ।
विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै पर्यटन भएकाले पर्यटक आगमन सुस्त अर्थात् अत्यन्तै न्यून सङ्ख्यामा भित्रिएका विदेशी पर्यटकको आँकडाले पनि नेपालको पर्यटनको अवस्थालाई दर्शाउँछ । त्यसो त अघिल्लो वर्ष विसं २०७७ पनि कोभिड कहरले नेपालको सबैजसो क्षेत्रलाई चौपट तुल्यायो । त्यसताका पनि पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको थियो । वर्ष २०७८ मा विदेशी पर्यटक आगमन सर्वाधिक कम भए । समग्रमा पर्यटन क्षेत्रमा चुनौतीसँगै उत्साह पनि थपिएको छ । कोभिड महामारीको दोस्रो लहरसँगै सुरु भएको वर्ष २०७८ को उत्तराद्र्धमा पर्यटन क्षेत्रमा धेरै आशाका सम्भावना देखिए ।
होटल व्यवसायीहरूको छाता सङ्गठन होटल सङ्घ नेपालले कोभिडपछि विस्तारै मुलुकको पर्यटन क्षेत्र लयमा फर्किँदै गरेको जनाएको छ । सङ्घका कार्यवाहक अध्यक्ष विनायक शाहले दुई वर्षको उकुसमुकुसपछि पर्यटन विस्तारै जुर्मुराउँदै गएको बताए । उनका अनुसार पछिल्ला दिनमा पर्यटक आगमन पनि बढिरहेको छ । पर्यटन क्षेत्र चलायमान भएको छ । पर्यटकीय गतिविधि बढेका छन् ।
ठूला इभेन्ट, मेला, महोत्सवले पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोभिड कहरकैबीच पनि अन्तर्राष्ट्रिय समुदायसँग सम्पर्क विस्तार र नीतिगत योजना बनाउन सहज भएकाले वर्ष २०७८ पर्यटनका लागि राम्रै रहेको उनको भनाइ छ । यकिन तथ्याङ्क नरहे पनि देशभर साना–ठूला गरी झण्डै १० हजार होटल छन् । ती होटलमा करिब दुई लाख बेड रहेको हानले जनाएको छ । पर्यटकस्तरदेखि पाँचतारे होटल धमाधम बनिरहेकाले यो सङ्ख्या अझै बढ्ने बताइएको । ठूला चेन होटल पनि निर्माणाधीन छन् ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कानुसार सन् २०२१ मा एक लाख ५० हजार ९६२ र सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यस्तै सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमण गरेका थिए ।
सन् २०२२ को सुरुआती चरणमा विदेशी पर्यटक आगमन निरन्तर बढिरहेको छ । बोर्डका अनुसार सन् २०२२ को जनवरीदेखि मार्च महिनासम्म ७८ हजार ७४७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । मार्च महिनामा मात्रै हवाईमार्ग भएर कूल ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए । वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिड महामारीपछि सबैभन्दा बढी हो । यो वर्षको सुरुआती महिनादेखि निरन्तररूपमा विदेशी पर्यटक आगमन बढिरहेको छ । सन् २०२२ को जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन् ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले भारत र बङ्गलादेशका पर्यटकलाई लक्षित गरेर बोर्डले विभिन्न कार्यक्रम सञ्चालन गर्दा नेपाल आउने भारतीय र बङ्गलादेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताए । ‘लामो समयदेखि कोरोनाले थलिएको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिँदै गएको छ,’ उनले भने । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आगामनको यो सुधारले पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा मिलेको उनको भनाइ छ ।
कालो बादलभित्र चाँदीको घेरा भनेझै मुलुकको पर्यटन क्षेत्र कोभिड कहरले अस्तव्यस्त बने पनि पर्यटनका केही क्षेत्र भने उत्लासमय रहे । पर्यटनको महत्वपूर्ण पाटोका रूपमा रहेको पर्वतारोहण क्षेत्रमा उत्साह र उमङ्ग अन्य क्षेत्रको निराशालाई केही आशामा परिणत गरिदियो । वर्षको सुरुआतमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा उत्साह मात्रै थपिएन, विभिन्न कीर्तिमान पनि कायम भए । कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष सन् २०२० को पर्वतारोहण रोकियो । तर २०२१ को वसन्त आरोहण उत्साहवद्र्धक रूपमा रह्यो ।
कोभिड महामारीको जोखिमकाबीच भएको उक्त आरोहणबाट विश्वभर चर्चा चुलियो । सर्वाधिक सङ्ख्याका आरोहीले आरोहण गरेर अदम्य साहस प्रदर्शन गरेका थिए । कीर्तिमानी आरोही कामीरिता शेर्पाले सगरमाथाको २५ पटक सफल आरोहण गरी आफ्नै कीर्तिमान तोड्नुभयो । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले गत वैशाख २८ गते सगरमाथाको सफल आरोहण गरेको थियो । विश्व कीर्तिमानी कामीरिता शेर्पा र बहराइनका राजकुमारले सगरमाथा आरोहणमा बनाएको नयाँ रेकर्डले विश्वलाई सगरमाथाबाट सुरक्षित सन्देश दिएका छन् । यसले महामारीको असहज परिस्थितिमा पनि सगरमाथासहितका हिमाल आरोहणले विश्व पर्यटनमा सकारात्मक सञ्चार छाएको छ । अघिल्लो वर्ष सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहलाई आरोहण अनुमति दिइएको थियो । यो सन् २०१९ को वसन्त यामको आरोहणभन्दा बढी हो ।
यस वर्ष अर्थात् सन् २०२२ को वसन्त ऋतुका लागि उल्लेख्य सङ्ख्यामा आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार चैत २९ सम्म सगरमाथासहित विभिन्न १९ हिमाल आरोहणका लागि ७४ टिमका ६०० भन्दा बढी आरोहीले आरोहण अनुमति लिइसकेका छन् । रासस