वाग्मती प्रदेशले जिडिपीमा बढी योगदान दिने
काठमाडौं, २३ वैशाख । वाग्मती प्रदेशले चालु आर्थिक वर्षमा राष्ट्रिय स्तरमा कूल गार्हस्थ उत्पादन (जीडीपी) मा एक तिहाइभन्दा बढी योगदान गर्ने अपेक्षा गरिएको छ ।
केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७८÷७९ मा कुल गार्हस्थ्य उत्पादनमा प्रदेशको योगदानका सम्बन्धमा गरेको अध्ययनअनुसार बागमती प्रदेशले राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा ३६ दशमलव ९ प्रतिशत योगदान पुग्ने अनुमान गरिएको हो ।
अघिल्लो साता राष्ट्रिय अर्थतन्त्रको प्रक्षेपण गर्दै यो वर्ष ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको विभागले प्रदेशगत रुपमा पनि वर्गीकरण गरेको तत्थ्यांक विभागले जनाएको छ ।
विभागको प्रक्षेपण अनुसार सबैभन्दा ठूलो अर्थतन्त्र संघीय राजधानीसमेत भएको बाग्मती प्रदेशको अर्थतन्त्रको आकार १५ खर्ब ६८ अर्ब छ । यो वर्ष बाग्मतीको आर्थिक वृद्धिदर ६.७ प्रतिशतले हुने अनुमान गरिएको छ ।
प्रदेशस्तरीय कुल गार्हस्थ्य उत्पादनको बृद्धि दर अनुसार प्रदेश १ अहिलेसम्म नामाकरणसमेत नभएको प्रदेश नम्बर १ को आर्थिक वृद्धिदर ५.४ प्रतिशत हुने अनुमान गरिएको हो । यो प्रदेशको कूल गार्हस्थ उत्पादन यो वर्ष ७ खर्ब ६३ अर्बको हुने छ । यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.७ प्रतिशत योगदान पु¥याउने अनुमान गरिएको छ । गत वर्ष यो प्रदेशको आर्थिक वृद्धि ४.३ प्रतिशत थियो । यो प्रदेशमा सबैभन्दा बढी कृषि क्षेत्रको योगदान छ ।
यस्तै मधेश प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा ६ खर्ब ४४ अर्ब हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षको संशोधित अनुमान ५ खर्ब ७२ अर्ब रहेको छ । राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १३.४ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले चालु वर्ष १३.३ प्रतिशत योगदान पु¥याउने विभागले अनुमान गरेको छ । गार्हस्थ उत्पादनको वृद्धिदर यो वर्ष ४.८ प्रतिशत कायम रहने विभागको अनुमान छ ।
यसैगरी गण्डकी प्रदेशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) यो वर्ष ४ खर्ब ३२ अर्ब हुने विभागले अनुमान गरिएको छ । जीडीपीको वृद्धिदर ६.२ प्रतिशत हुने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान २६ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.४ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।
यस्तै लुम्बिनी प्रदेशमा लुम्बिनी प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा ६ खर्ब ८५ अर्ब हुने अनुमान विभागले गरेको छ । ५.४ प्रतिशतले आर्थिक वृद्धिदर हुने अनुमान गरिएको यो प्रदेशमा पनि कृषि क्षेत्रकै योगदान धेरै छ ।
कर्णाली प्रदेशमा सबैभन्दा सानो अर्थतन्त्र कर्णाली प्रदेशको छ। कर्णालीको जीडीपी यो वर्ष १ खर्ब ९८ अर्ब पुग्ने अनुमान विभागले गरेको छ । गत वर्ष १ खर्ब ७६ अर्ब रहेको थियो। राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ४.१ प्रतिशत हिस्सा कर्णालीले ओगट्ने अनुमान विभागले गरेको छ । यो वर्ष ५.५ प्रतिशतको आर्थिक वृद्धिदर कर्णालीमा हुने विभागले अनुमान गरेको छ ।
सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रको आकार यो वर्ष ३ खर्ब ३९ अर्व हुने अनुमान विभागले गरेको छ । यसले राष्ट्रिय जीडीपीमा ७ प्रतिशतले हिस्सा ओगट्ने अनुमान विभागको छ। ४.९ प्रतिशतले आर्थिक वृद्धिदर हुने यो प्रदेशमा कृषिको योगदान सबैभन्दा धेरै छ ।