गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको बाँकी काम पूरा हुने, कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख आधार मानिने
काठमाडौं, १० जेठ । सरकारले चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण प्रक्रियालाई अगाडि बढाउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आवका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराएकी हुन् । उनका अनुसार रंगशालाको अधुरो काम टुंगोमा पुर्याउन समन्वय र सहजीकरणको काम सरकारले गर्ने भएको छ ।
सरकारले प्रत्येक प्रदेशमा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रिय रंगशाला बनाउने भएको छ । सबै स्थानीय तहमा खेल ग्राम बनाइने भएको छ । खेलकुद विश्वविद्यालयको सम्भावना अध्ययन गर्ने घोषणा समेत सरकारले गरेको छ ।
यस्तै आगामी आर्थिक वर्ष २०७९र०८० को बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताएको छ । राष्ट्रपति भण्डारीका अनुसार कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकका रूपमा अघि बढाइने, यसका लागि नयाँ राष्ट्रिय कृषि नीति तर्जुमा गर्दै कृषिमा यान्त्रिकीकरण र व्यवसायीकरण गर्दै र खेतीमा जलवायु अनुकूल प्रविधिको प्रवद्र्धन गरिने बताइन् ।
उनले कृषि क्षेत्रको आधुनिकीकरण गरेर आर्थिक वृद्धिको आधारलाई बलियो बनाइने पनि बताएकी छन । आगामी वर्षको बजेटमार्फत कृषि उत्पादन बढाउने र यसको बजारीकरण गर्दै आयात प्रतिस्थापन गर्ने नीति लिनका लागि विशेष व्यवस्था गर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले नेपालमा सबैभन्दा धेरै आयात हुने धान मकै, आलु, प्याज, ओखर जस्ता बालीको आयात विस्थापन गर्ने गरी स्वदेशमै उत्पादन गर्न विशेष कार्यक्रम अघि बढाइने समेत बताइन् । उनले कृषिमा सूचना प्रणाली अपनाइने र कृषकको संरक्षण गर्ने नीति लिइने बताइन् ।