Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पेट्रोलियम पदार्थ सहित १० वस्तुले १० महिनामा उठाए धेरै राजश्व

पेट्रोलियम पदार्थ सहित १० वस्तुले १० महिनामा उठाए धेरै राजश्व

काठमाडौं, ११ जेठ । नेपाल सरकारले हरेक महिना बिदेशबाट आयात हुने वस्तुबाट भन्सार राजश्व उठाउँछ ।

नेपालमा धेरैजसो वस्ुत बिदेशबाट आयात हुने भएकाले सरकारी ढुकुटीको मुख्य हिस्साका रुपमा भन्सार राजश्व रहेको अवस्था छ ।

चालु आर्थिक बर्षको १० महिनामा मात्रै सरकारले पेट्रोलियम पदार्थ आयातवापत १ खर्ब ६० अर्ब ३९ करोड ९२ लाख रुपैयाँ भन्सार राजस्व उठाएको छ ।

भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार गत बर्षको साउनदेखि बैशाख मसान्तसम्म नेपालले २ खर्ब ९६ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ ।

यसमार्फत सोहीअनुसारको भन्सार राजस्व उठाएको हो ।

यस्तै धेरै भन्सार राजस्व उठ्ने दोस्रो ठूलो वस्तुमा भने सवारीसाधन तथा पार्टपुर्जा छन् । नेपालले चालु आवको १० महिनामा ८६ अर्ब ८० करोड रुपैयाँ बराबरको सवारीसाधन तथा पार्टपुर्जा आयात गरी यसबाट ७९ अर्ब ८६ करोड ९९ लाख २१ हजार रुपैयाँ राजस्व उठाएको हो ।

सरकारले विलासी वस्तुहरुको भन्सार कच्चा पदार्थ र आयात नगरी नहुने वस्तुको तुलनामा बढी लिने गर्दछ । जसका कारण सवारीसाधन, पेट्रोलियम पदार्थ, अनावश्यक विद्युतीय उपकरणहरुलगायतका वस्तु आयात गर्दा बढी राजस्व उठ्ने गरेको छ ।

नेपालले पछिल्लो १० महिनामा फलाम तथा फलामजन्य वस्तुको आयातमार्फत २६ अर्ब ५२ करोड ४६ लाख रुपैयाँ राजस्व उठाएको छ । यस अवधिमा नेपालमा विभिन्न देशबाट १ खर्ब ४० अर्ब रुपैयाँ बढीको फलाम आयात भएको तथ्यांकमा उल्लेख छ ।

१० महिनाको अवधिमा नेपालले विभिन्न भन्सार नाकाहरुबाट रेडियो, टेलिभिजन, मोबाईल सेटलगायतका विद्युतीय उपकरण र मेशिनरीहरुबाट १९ अर्ब ८६ करोड १६ लाख, प्लास्टिकजन्य पदार्थबाट १५ अर्ब ७७ करोड, ठुलो औद्योगिक मेशिनरीबाट १४ अर्ब ६४ करोड, घ्यु, तेल र बोसोबाट १२ अर्ब रुपैयाँ भन्सार राजस्व उठाएको हो । यी वस्तुहरु नेपालले आयात गर्ने वस्तुहरुको सूचीको अग्रस्थापनमा पनि पर्छन् ।

यस्तै नेपाले साउनयता तयारी पोशाकमार्फत ६ अर्ब ३९ करोड, सेरामिक्सका वस्तुमार्फत ५ अर्ब ७७ करोड र बहुमूल्य धातु तथा गरगहनाबाट ५ अर्ब ६५ करोड रुपैयाँ भन्सार राजस्व उठाएको छ । धेरै भन्सार राजस्व उठेका यी १० बस्तुमार्फत मात्रै नेपालले पछिल्लो १० महिनामा २ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ भन्सार राजस्व उठाएको हो । यो रककम नेपालले १० महिनामा उठाएको कुल भन्सार राजस्वको ७२ प्रतिशत हिस्सा हो । नेपालले पछिल्लो १० महिनामा विभिन्न वस्तुहरु आयात गरेवापत ४ खर्ब ५ अर्ब ६० करोड ८२ लाख रुपैयाँ राजस्व उठाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x