राष्ट्रिय क्रिकेट खेलाडीको तलब बढ्यो
काठमाडौं, ११ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको मासिक पारिश्रमिकमा वृद्धि भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को हिजो मंगलबार सम्पन्न बोर्ड बैठकले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट टिममा सेन्ट्रल कन्ट्रयाक्टमा रहेका सम्पूर्ण खेलाडीहरुको पारिश्रमिक बढाउने निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार पुरुष टिमका सम्पूर्ण खेलाडीहरूको मासिक पारिश्रमिक १० हजार रुपैयाँले वृद्धि गरिएको छ । यसअघि पुरुष टिमका ए ग्रेडका खेलाडीहरुको मासिक पारिश्रमिक ५० हजार, बी ग्रेडका खेलाडीको ४० हजार र सी ग्रेडका खेलाडीको ३० हजार रहेको थियो ।
अब बढेको तलबअनुसार पुरुषतर्फ ए ग्रेडका खेलाडीले ६० हजार, बी ग्रेडका खेलाडीले ५० हजार र सी ग्रेडका खेलाडीले ४० हजार रुपैयाँ मासिक पारिश्रमिक पाउनेछन् ।
त्यसैगरी महिला खेलाडीको हकमा बि र ए ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजार र सी ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक पाँच हजार रुपैयाँले वृद्धि गरिएको छ । यसअघि ए ग्रेडमा रहने महिला खेलाडीको मासिक पारिश्रमिक १५ हजार थियो । तलब बढेसँगै अब मासिक २१ हजार रुपैयाँ तलब पाउने छन् ।
मासिक १२ हजारको दरले तलब पाउँदै आएका बी ग्रेडका खेलाडीले अब १८ हजार पाउनेछन् भने सी ग्रेडका महिला खेलाडीले १० हजार पाउँदै आएकोमा अब १५ हजार पाउने क्यानले जनाएको छ ।
१, अप्रिल २०२२ देखि लागू हुनेगरी क्यानले सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक तीन हजार रुपैयाँ, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक पाँच हजार र टियू मैदानको पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजार रुपैयाँले वृद्धि गरेको छ ।