विश्व वातावरण दिवस मनाइँदै
काठमाडौं, २२ जेठ । आज आइतबार विभिन्न कार्यक्रम गरि विश्व वातावरण दिवस मनाइँदैछ । दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन् ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाइन्छ ।
यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस मनाइँदैछ ।
नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन -पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यस अवसरमा वातावरण संरक्षणको कार्यमा संलग्न सबै व्यक्ति, संस्था एवं विकास साझेदारमा शुभकामना व्यक्त गर्दै यस अभियानमा आआफ्नो ठाउँबाट योगदान पु¥याउन सबैलाई आह्वानसमेत गरेका छन् ।
वातावरण संरक्षणसम्बन्धी स्टकहोम सम्मेलन, १९७२ ले तय गरेको नारा ‘केवल एक पृथ्वी’लाई ५० वर्षपछि आएर फेरि पुनर्जागृत गर्नुले ब्रह्माण्डमै जीवन जीउनयोग्य एकमात्र ग्रह पृथ्वीको वैशिष्टय र यसको संरक्षणमा प्रतिकूल विद्यमान मानवीय क्रियाकलापलाई सुधार गर्नुपर्ने अपरिहार्यतालाई थप उजागर गरेको उनले उल्लेख गरेका छन् ।
यस वर्षका लागि तय गरिएको विश्व वातावरण दिवसको नाराको मर्मअनुरूप वातावरणमैत्री व्यवहार र आचरणको अवलम्बन गर्दै सबैको अस्तित्वको एकमात्र आधार पृथ्वीको संरक्षण गर्न यस दिवसले प्रेरणा मिल्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।