परिचयपत्र उपलब्ध गराउन प्रधानमन्त्रीसँग एनआरएनको माग
काठमाडौं, २८ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएन) ले नेपाली परिचयपत्र उपलब्ध गराउन प्रधानमन्त्री शेर बहादुर देउवासँग अनुरोध गरेको छ ।
एनआरएनका कार्यकारी अध्यक्ष कूल आचार्य र अध्यक्ष डा. बद्री के.सी संग गएको एक प्रतिनिधि मंडलले आज शनिबार प्रधानमन्त्री देउवासंग भेट गर्दै परिचय पत्रको आवश्यकतामा जोड दिएका हुन् ।
नेपाल सरकारले पेश गरेको नीति, कार्यक्रम तथा बजेटमा गैरआवासीय नेपाली संघले उठाउँदै आएका धेरैजसो विषयहरु संबोधन भएकोमा नेपाल सरकारप्रति एनआरएनले हार्दिक आभार प्रकट समेत प्रकट गरेको छ ।
गैरआवासीय नेपाली संघले यही आउने १६ जुन २०२२ का दिन गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार लगायत विषयमा एक दिने कार्यशाला प्रत्यक्ष तथा जुम प्रविधि मार्फत आयोजना हुन गईरहेको छ ।
एनआरएनका प्रतिनिधि मंडलले प्रधानमन्त्री देउवालाई कार्याशालामा प्रमुख आतिथ्यताका लागि अनुरोध गरेकोमा सम्माननीय प्रधानमन्त्रीज्यूले धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यतालिका हेरेर उपस्थित हुने जानकारी समेत गराए ।
नेपाली नागरिकता, गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीहरुको मताधिकारको विषयका साथै म्यानमार र थाईल्याण्डमा रहेका नेपालीहरुको पहिचानको समस्या बारे अवगत गराउँदै प्रधानमन्त्री देउवाले एनआरएनले उठाएका विषयहरुमा चासो लिदै त्यस विषयहरु प्रति नेपाल सरकार सकारात्मक रहेको जानकारी दिए ।